जनकपुर, २३ असार (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।
उहाँले त्यसका लागि प्रदेश सरकारले खेलकुद ऐन बनाउने तयारी गरेको जानकारी दिनुभयो ।
ओलम्पिक दिवस २०२४ का अवसरमा मधेस प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै आज जनकपुरधामा उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री सिंहले नियमित खेलकुदको अभ्यासका लागि जनकपुरधाम, राजविराज तथा वीरगन्जमा स्तरीय रंगशाला निर्माण गर्न सरकारले योजना अगाडि बढाउने उल्लेख गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि उपमहानगरले विभिन्न वडामा खेलकुद मैदान निर्माणमा जोड दिनुका साथै विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा मधेस प्रदेशले विभिन्न विद्यालयमा खेलकुदको आयोजना गरेर निकै सराहनीय काम गरेको बताउनुभयो ।
कमिसनका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरंगप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव एवं सङ्कटमोचन देवशरण रामरती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साह सहितका वक्ताहरूको सहभागिता थियो ।
Facebook Comments Box