सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ असार ।
वीरगंज माईस्थान स्थित गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा आइतवार दोस्रो पटक भव्य रथयात्रा निकालिएको छ ।
माइस्थान मन्दिर परिसरबाट निकालिएको रथयात्रा घणटघर, रेल्वे रोड हुँदै छपकैया पुगेर श्रीराम सिनेमा हल, विर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान, माईस्थान चोक हुँदै पुनः मन्दिर प्रांगणमा पुगेर समापन भएको थियो ।
वैभव वरिगंजको अभियानलाई साकार पार्न धार्मीक पर्यटनको केन्द्रको रुपमा वीरगंजलाई स्थापित गर्ने उद्देश्यका साथ आईतवार वीरगंजमा आयोजित गहवामाई रथयात्रामा हजारौंको जनसंख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
रथयात्रामा सहभागी हुन बारा, पर्सा, रौतहट लगायत छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरुको ठूलो मात्रामा सहभागिता रहेको आयोजकले जनाएको छ ।
सयौँ वर्ष पूरानो इतिहास बोकेको गहवामाईको नवनिर्मित मन्दिरको उद्घाटन पश्चात कुनैपनि कार्यक्रम नभएकोले १२ औँ वार्षिकोत्सवको अवसरमा दोस्रो पटक रथयात्रा निकालिएको रथयात्रा आयोजक समितीका संयोजक श्याम पोखरेलले बताउनु भयो ।
रथ यात्रामा हिन्दु धर्म र संस्कृति झल्किने विभिन्न झाँकी सहित तराई मधेशका प्रचलित लोकबाजाको साथमा देशको अन्य भुगोल, संस्कृति, भाषा र परम्परा समेतको प्रतिनिधित्व हुने किसिमको विभिन्न नृत्य, प्रस्तुत गरिएको थियो ।
रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न सामाजिक संघसंस्था व्यापारिक प्रतिष्ठान लगायतले नगरका ठाउँ–ठाँउमा चिसो पानी, सर्वत, लस्सी र जुसहरु समेत निःशुल्क वितरण गरेका छन । तस्वीरहरुः– विकाश रौनियार