सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ जेठ ।
देशभरका अस्पतालहरूमा बिरामीहरूले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु पर्ने समस्या समाधानका लागी विशेष समिति गठन गरिएको छ ।
गुनासो बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले यसको समाधानका लागि एउटा विशेष समिति गठन गर्नुभएको हो ।
स्विजरल्याण्डमा आयोजित ७७ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर नेपाल फर्केकै दिन मन्क्री यादवले मन्त्रालयका अतिरित्त स्वास्थ्य सचिव डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समस्याहरूको अध्ययन गरी समाधानको सुझाव सहित प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गर्नुभएको हो ।
महाशाखा प्रमुख डा. मदन कुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहनुभएको समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ ।
मन्त्री यादवका अनुसार संघीय अस्पतालहरूमा शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने, पालो नपाएको, र उपचारमा ढिलाइ भएको गुनासाहरू बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपायहरू पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको हो ।
धेरै समयदेखि दुर्गम र टाढाबाट आउनु भएका बिरामीलाई शल्यक्रियाका लागि पालो नपाएको, उपचारमा ढिलाइ भएको र अस्पतालहरूले अन्य धेरै लापरबाही गरेको गुनासो आइरहेको मन्त्री यादवले भन्नुभयो ।
उहाहरूलाई छिटोछरितो तरिकाले सेवा कसरी प्रदान गर्ने र अन्य सेवाहरू चुस्त दुरुस्त बनाउन तत्काल पहल गर्न आवश्यक कार्यहरूको समितिले अध्ययन गर्ने उहाको भनाइ छ ।
समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका संघीय अस्फतालहरूको अनुगमन गर्ने छ । अनुगमनका क्रममा बिरामीहरूले शल्यत्रियाका लागि के–के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको संख्या र उहाहरूले दिने सेवाको विवरण जस्ता विषयवस्तुहरूको अध्ययन गरिने छ ।
समितिले अस्पतालहरूबाट प्रदान गरिने बहिरंग (ओपिडी) सेवाहरूको विस्तृत अध्ययन गर्ने छ । ओपिडी सेवा हेर्ने चिकित्सकहरूको संख्या, उहाहरूले दैनिक रूपमा हेर्ने बिरामीहरूको संख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाहरूको विस्तृत विवरण तथा सोही सेवाहरूका लागि अन्यत्र रेफर गरिएका बिरामीहरूको विवरण पनि संकलन गर्ने छ ।
मन्त्री यादवले समितिलाई समस्याहरूको प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन (तीन महिना भित्र गर्न सकिने), मध्यकालीन (एक वर्ष भित्र गर्न सकिने), र दीर्घकालीन (पाँच वर्ष भित्र गर्नुपर्ने) कार्य योजना तयार पारी पेस गर्न निर्देशन दिनु भएको छ ।
स्वास्थ्य सेवा पहुंचमा समानता, समयबद्धता, र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको समितिले स्वास्थ्य सेवामा सुधारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र आवश्यक सुधारका लागि ठोस कार्य योजनाहरू प्रस्तुत गर्ने मन्त्री यादवले बताउनुभयो ।
उहाले समितिको प्रतिवेदनले देशभरका अस्पतालहरूमा शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरूमा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिरामीको समस्या सम्बोधन गर्न विशेष समिति गठन
Facebook Comments Box