सहारा दैनिक

spot_img
Homeसमाचारभारत सरकारको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

भारत सरकारको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

काठमाडौँ, ७ वैशाख (रासस)
भारत सरकारको रु दुई करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका ६ स्थित हिमालय माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।
व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो ।
त्यसैगरी, “नेपाल–भारत विकास सहकार्य” अन्तर्गत रु तीन करोड ३७ लाखमा निर्माण गरिएको दुहूँ गाउँपालिकास्थित जनविकास माविको विद्यालय भवनको दुहूँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव सोनाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।


“नेपाल–भारत विकास सहकार्य” अन्तर्गतको भारत सरकारको अनुदान सहयोगले व्याँस गाउँपालिकाको हिमालय माविलाई दुईतले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरिनेछ ।
त्यसैगरी, दुहूँ गाउँपालिकास्थित जनविकास माविको भवन निर्माण गरिएको दूतावासले जनाएको छ ।
भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो ।
हिमालय माविका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने जनविकास माविका परियोजना कार्यान्वयन दुहूँ गाउँपालिकामार्फत गरिनेछ ।
व्याँस गाउँपालिका र दुहूँ गाउँपालिकाका अध्यक्षले भारत सरकारको सहयोगको प्रशंसा गर्नुभएको छ ।
दार्चुलास्थित हिमालय मावि र जनविकास माविमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने उहाँहरूले बताउनुभयो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ ।
यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -