spot_img
Homeसमाचारभारत सरकारद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस प्रदान

भारत सरकारद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस प्रदान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ बैशाख ।
अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्नु भएको छ ।
नेपालका लागी भारतीय राजदुतावासले आयोजना गरेको एम्बुलेन्स र स्कुल बसको चावी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले भारतीय विकास सम्बन्धीका परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताउनुभयो ।
उहाले यो महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकै फाइदाजनक हुने बताउनु भयो ।
कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ एम्बुलेन्स र ६६ स्कुललाई बस प्रदान गरेको छ ।
भारतीय राजदूतावास, काठमाडौंले आइतवार आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार स्वरुप प्रदान गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स र स्कुल बसका चाबी हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
उपहारस्वरुप हस्तान्तरण गरिएका १०१ सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर प्रमुख जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेको दुतावासले जनाएको छ ।
नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।


सवारी साधनको चावी हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिदै आएको पहलमध्येको एक रहेको बताउनु भयो ।
उहाले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको बताउदै भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।
सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर १ हजार ९ एम्बुलेन्स र ३ सय स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको दुतावासले जनाएको छ ।
यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सेवामा सहज भौतिक पहुंचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको बताइन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -