सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ चैत्र ।
झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएको सम्बन्धमा नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति महम्मद साहबुद्दिन (उर्फ साहबुद्दिन खां) समेतलाई बयानका लागि झिकाउन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले आदेश गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको संयुक्त इजलासले बुधवार खां परिवारलाई झिकाउने आदेश गरेको हो ।
भारतीय नागरिक रहेका साहबुद्दिन समेत उनको परिवारले झुठो विवरण पेश गरि बंशजको आधारमा नेपाली नागरिकता लिन सफल भएको भन्दै दायर भएको रिटमा उच्च अदालतले खां परिवारलाई बयानका लागि झिकाउन आदेश गरेको बताइएको छ ।
यस अघि जिल्ला अदालत पर्साले गत पुष २४ मा आरोप प्रमाणीत हुन प्रमाण नपुगेको भन्दै फैसला गरेको थियो । उक्त फैसला बदर भागी रहेकोले जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा नागरिकता खारेजीको मागदावी सहित पुनरावेदन गरेको थियो ।
पुनरावेदन उपर सुनुवाइ गर्दै साहबुद्धिनसहित परिवारैले झुठो विवरण पेश गरी लिएको नागरिकता खारेज हुनुपर्ने दावी सहित दायर रिटमा वादी तर्फको दावी सुन्दै उच्च अदालतले प्रतिवादीलाई कानुन बमोजिम म्याद जारी गरि उपस्थित गराउन आदेश दिएको छ ।
मिसिलमा संलग्न विभिन्न प्रमाण र आधार रहंदा रहंदै पनि सुरु जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचरणीय भई फरक पर्न सक्ने देखिंदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रतिबादीहरुलाई म्याद जारी गरि उपस्थित गराउन आदेश गरेको हो ।
उच्च अदालतको आदेशमा भनिएको छ मिसिल संलग्न रहेको भारतीय निर्वाचन आयोगबाट तैयार भएको मतदाता नामावली, फरिद मियाका छोराहरुका बिचमा अंशवण्डाको लिखत तैयार हुंदा यी प्रतिवादी मन्सुर खांको कुनै नाम उल्लेख नहुनु, अनुसन्धानको क्रममा ख्याली सिंहले पेश गरेको प्रतिवेदन, भारतमा मन्सुर खांले अचल सम्पत्ति हस्तान्तरण गर्दा आफ्ना बाबुको नाम सुलेमान खान भन्ने उल्लेख भएको र उक्त लिखतमा लागेको ल्याप्चे सहीछाप र प्रतिवादी मन्सुर खााको ल्याप्चे नमुना परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउदा उक्त सहीछाप मिलेको भन्ने प्रतिवेदन समेतका आधारमा सुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचारणीय भई फरक पर्न सक्ने देखिंदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रत्यर्थीको नाउमा कानून वमोजिम म्याद जारी गरी उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु होला ।
नेपाल सरकारको तर्फबाट दायर भएको पुनरावेदनमा विदेश भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला सिकारपुर थाना मौजे बिनबलिया तथा चेगवन प्रगन्ना मझौआ घर भई हाल वीरगंज महानगरपालिका ३ बस्ने सुलेमान खांको छोरा मंसुर शेष भन्ने मंसुर खां, उनकी श्रीमती हमिदा वेगम, छोरा महमद साहबुद्दिन भन्ने साहबुद्दिन खां र साहबुद्दिनको श्रीमती नजमा बेगम र कान्छा छोरा महमद मुर्तुजा भन्ने गुड्डु खांलाई प्रतिवादी बनाइएको छ । महम्मद शहाबुद्दिन उर्फ साहबुद्दिन खां नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन ।
Facebook Comments Box