धनुषा, २६ फागुन (रासस)
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्न्मस्ता बाहिनीले २२औँ स्थापना दिवस मनाएको छ ।
आज छिन्नमस्ता बाहिनीको मुख्यालय बर्दिबासमा आयोजित विशेष समारोहबीच २२औँ स्थापना दिवस मनाएको हो ।
मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको अध्यक्षता तथा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा मुख्यालयको स्थापना दिवस मनाइएको हो ।
प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री यादवले प्रदेशको शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । मुख्यमन्त्री यादवले शान्ति सुरक्षाको सवालमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । शान्ति सुरक्षामा अहोरात्र खट्ने सशस्त्र प्रहरीको न्यूनतम सेवा सुविधासमेत उपलब्ध नभइरहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले त्यसतर्फ अविलम्ब ध्यान दिन संघ सरकारलाई ध्यानाकर्षणसमेत गराउनुभयो ।
उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीहरूले न्यूनतम सेवा सुविधासमेत पाउन सकेको छैन । त्यसका लागी संघ सरकारलाई आग्रह गर्दछु”, शान्ति सुरक्षाका लागि आवश्यक स्रोत साधन प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्न तयार छ ।”
पहिलोपटक स्थापना दिवस मनाइरहेको मुख्यालयको समारोहमा विशिष्ट अतिथि सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक गौतमले सशस्त्र प्रहरी बल नेपालले आफ्ना विभिन्न इकाई स्थापनका साथै विभिन्न अवसरमा विभिन्न मितिलाई शुभअवसरको दिनका रूपमा लिएको बताउनुभयो । उहाँले सोही महत्त्वपूर्ण घडीलाई आफ्नो स्थापना दिवस मनाउने परम्पराको थालनी गरेको बताउनुभयो ।
अतिरिक्त प्रहरी महानिरीक्षक गौतमले आफू कार्यरत इकाईको स्थापना दिवस मनाउने कार्यले कार्यालयमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको इकाईसँगको भावनात्मक सम्बन्ध विस्तार भई भविष्यमा आफ्नो युनिटप्रति अपनत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी स्थापना दिवस मनाऊनुले यस संगठनमा कार्यरत व्यक्ति–व्यत्तिबीचको आपसी सम्बन्ध, सामिप्य र स्नेहको बढोत्तरी हुने बताउनुभयो ।
स्गठनलाई इकाई फर्मको अवधारणा लागू गनुपर्ने अतिरिक्त प्रहरी महानिरीक्षक गौतमले बताउनुभयो । यस बाहिनी तथा मातहतका इकाईले मधेस प्रदेशमा बस्ने नागरिकको सुरक्षाका लागि आपराधिक गतिविधि नियन्त्रणमा, सीमा सुरक्षामा चोरी तस्करी नियन्त्रणमा तथा स्तम्भको रेखदेखमा, संरक्षण एवं मर्मत गर्ने सन्दर्भमा सबै किसिमका विपद्हरूमा समेत परिचालन गरी पेसागत कौशलता र दक्षता प्रदर्शन गरिरहेको उहाँले बताउनुभयो ।
सोही अवसरमा बाहिनीपति दीपेन्द्र शाहले मुख्यालयबाट सशस्त्र प्रहरीद्वारा भएका कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले सशस्त्र प्रहरीले सीमारक्षा, आसिपात छिन्नमस्ता भन्ने वाक्यांशलाई हृदयमा राखी लक्ष्य प्राप्तिमा कटिबद्ध भई इमादारीपूर्वक अगाडि बढिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका एआइजी चन्द्रप्रसाद गौतम, मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुर, प्रदेशसभा सदस्य शारदा थापासहित सुरक्षा निकायका प्रदेशस्थित प्रमुख, समाजसेवी, उद्योगीलगायतको उपस्थिति थियो । स्थापना दिवसका अवसरमा छिन्नमस्ता बाहिनीले गराएको आन्तरिक विभिन्न प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी एवं उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।
Facebook Comments Box