काठमाडौँ, २१ फागुन (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे सुकै परिवर्तन भए पनि हामी “मिसन–२०८४” छाड्दैनौँ । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रुपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रुपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।”
अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जिफन्टका नेता(कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिङ्गो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो ।
मजदुरहरुले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न आग्रह गर्दै उहाँले युवाहरुलाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गर्नुभयो ।
देशमा परिवर्तन आवश्यक छ–अध्यक्ष ओली
Facebook Comments Box