मोरङ, १९ फागुन (रासस)
पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिनुभएको छ ।
सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला फाउण्डेशनको आयोजनामा आज यहाँ आयोजित “संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति” विचारगोष्ठी कार्यक्रममा उहाँले वर्तमान संविधान जारी गर्न स्व कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
“वर्तमान संविधान जारी हुनुमा निष्ठावान र इमान्दार राजनीतिज्ञ तत्कालीन प्रधानमन्त्री कोइरालाको भूमिका महत्तवपूर्ण छ । उहाँ अनुशासित एवं तपस्वी नेता हुनुहुन्थ्यो”, पूर्वराष्ट्रपति यादवले भन्नुभयो ।
त्यस अवसरमा पूर्वसभामुख दमननाथ ढु·ानाले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने भन्दै त्यसको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको धारणा राख्नुभयो । उहाँले तत्कालीन समयमा धेरैले वर्तमान संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेको उल्लेख गर्र्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सफल नेतृत्वकै कारण संविधान जारी भएको बताउनुभयो ।
पूर्वमन्त्री दिलेन्द्रप्रसाद बड्रले लामो संघर्ष र सफल नेतृत्वका कारण संविधानमा बहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिकालगायतका विषय समावेश गर्न सफल भएको स्मरण गर्नुभयो । उहाँले संविधानमार्फत व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले समयसापेक्ष संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।
संविधानसभा सदस्य एवं पूर्वमन्त्री रोमी गौचनले संविधान सम्झौताको दस्तावेज भएकाले समयअनुसार संशोधन गर्दै सबैका लागि स्वीकार्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्व कोइराला एक इमान्दार नेता हुनुहुन्थ्यो भन्दै वर्तमान संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।
राजनीतिक विश्लेषक प्रा कृष्ण हाछेथुले स्व कोइराला दूरदर्शी नेता भएकाले संविधान जारी हुनसकेको बताउनुभयो । उहाँले संविधानलाई गतिशील बनाउन समयसापेक्ष संशोधन पनि जरुरी भएको उल्लेख गर्नुभयो ।
फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले स्व कोइराला लोकतन्त्रको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै दलका नेताहरुलाई एक ठाउँमा ल्याई संविधान जारी गर्न सफल हुनुभएको चर्चा गर्नुभयो ।
Facebook Comments Box