सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ फागुन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको प्याज तथा विभिन्न किसिमका लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित मिनाबजारबाट प्याज र वडा नं. १६ स्थित इदगाह चोकबाट लत्ताकपडाहरू बरामद गरेको हो ।
शुक्रवार खटिएका प्रहरी टोलीलाई देख्नासाथ भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको प्याज अनाधिकृतरूपमा भण्डारण गरेको साहुले छाडेर भागी फरार भए पछि वेवारिसे अवस्थामा १३३ बोरामा रहेको ५ हजार २ सय २० किलो प्याज बरामद गरेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी बिहिवार २ जना अपरिचित व्यक्तिहरूले भन्सार छली चोरी पैठारी गरी ल्याइएको विभिन्न किसिमका लत्ताकपडाहरू टाउकोमा बोकी ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर फरार भएपछि वेवारिसे अवस्थामा बरामद गरेको जिप्रकाले जनाएको छ ।
प्रहरी टोलीले बरामद गरेका अं.म. रू. ३ लाख ३ हजार ३ सय १० मुल्य बराबरको प्याज सहित लुंगी, कुर्ता सुरवाल, तौलीया, लेडिज कटु, मार्किन कपडा, अण्डरवेयर, होली कुर्ता, गमछा र थान कपडा आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।