सहारा दैनिक

spot_img
Homeदेशमधेशसामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमतीः निषेधाज्ञा अवज्ञा आरोपमा पक्राउ २१ जना...

सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमतीः निषेधाज्ञा अवज्ञा आरोपमा पक्राउ २१ जना रिहा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ फागुन ।
सर्वपक्षीय सहमती पश्चात निषेधाज्ञाका क्रममा प्रहरीले पक्राउ गरेको २१ जनालाई रिहा गरेको छ ।
दुई समुदाय विचको विवाद पश्चात उत्पन्न परिस्थितीका कारण स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा आदेश सम्बन्धमा सर्वपक्षीय बैठकले विभिन्न निर्णयहरु गरे पछि पक्राउ परेका २१ जनालाई रिहा गरिएको पत्रकार मनोज पटेलले जानकारी दिनु भयो ।
आन्दोलनरत हिन्दु समाज समेतको सहमती पश्चात पक्राउ परेका सबै जनालाई राती साढे १० बजे रिहा गरिएको हो ।
दुई समुदाय विचको विवाद र स्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अगुवाईमा मंगलवार साढे ११ बजे देखि बसेको सर्वपक्षीय बैठकले गरेको निर्णयमा हिन्दु समाजले समेत सहमती जनाएको छ ।
बैठकले एकअर्काको आस्थाको केन्द्र तथा धार्मिकस्थलको सम्मान गर्दै विवादस्पद किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानुनी कारबाहीको दायरामा ल्याउने, जातजाति, भाषा, धर्म र समुदाय सम्प्रदाय बीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताबीचको सुसम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यस्तै जिल्लाभित्र खुलम खुला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनी कारबाही गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने, जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवम द्वन्द्वलाई उस्काउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक र्‍याली, जुलुस, बन्द हडताल लगायतका कुनै पनि गतिविधि कुनै पनि समुदाय संघसंस्थाले नगर्ने र यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संघ सस्थां एवं सरोकारवालाले सहयोग गर्ने पनि निर्णय भएको पर्साका प्रजिअ भुसालले जानकारी दिनु भयो ।
बैठकले सामाजिक सञ्जालमा कुनै पनि जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुरा पोष्ट गर्ने/गराउने उपर प्रशासनबाट कानुनबमोजिम कडा कारबाही गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप यादव, प्रदेश सभा सदस्य रहबर अंसारी, वीरगंज महानगरका मेयर राजेशमान सिंह, नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पर्सा अध्यक्ष बालगोपाल थापा, महानगर कमिटिका अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्साका संयोजक ओमप्रकाश सर्राफ, पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, पत्रकार बृजलाल पासवान, राप्रपाका पन्नालाल पटेल, नेकपा एमालेका डा. विश्म्भर शर्मा, सुरक्षा निकायका पदाधिकारी सहित बिभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -