सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ फागुन ।
समप्रदायिक दंगा भड्किने अवस्था सृजना भए पछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले सोमबार सांझ ५ बजेदेखि अनिस्चितकालिन कर्फ्यू आदेश जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले वीरगंज महानगरपालिका क्षेत्रभित्र विभिन्न सिमाक्षेत्रलाई लक्षित गरी कर्फ्यू आदेश जारी गरेको हो ।
रौतहट जिल्ला स्थित ईशनाथ नगरपालिका मोतिपुरमा फागुन ३ गते बिहिवार सरस्वती पुजाको मुर्ती सेलाउन जाने क्रममा दुई पक्षबीच झडप भएको थियो । सोही विषयको विरोधमा वीरगंजका एक समुहले विरोध प्रदर्शन सहित सोमवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन पुगेका थिए भने त्यसको विरोधमा वीरगंज छपकैया र लाठगल्लीका अर्का समुहले विरोध प्रदर्शन गर्दै सडकमा तोडफोड समेत गरी आदर्शनगर सम्म पुगेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको छ ।
प्रहरी र प्रदर्शनकारी विच झडप हुंदा केही प्रहरी समेत घाइते भए पछि प्रहरीले भिड तितरवितर पार्न केही राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।
त्यसलाई मध्यनजर गरी वीरगंजको शान्ती सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नहुनजेल सम्मको लागि कर्फ्यू आदेश जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिनु भयो ।
जारी कर्फ्यू आदेशमा वीरगंज महानगरपालिकाको सीमा क्षेत्र पूर्वमा नगवा (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) सम्ममा कर्फ्यू आदेश जारी गरिएको छ ।
कर्फ्यू आदेश जारी गरिएको क्षेत्रभित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्याली गर्न एवं अन्य कुनै प्रकारको उच्श्रृंखल गतिविधि गर्न नपाउनेगरि सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश नभए सम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
Facebook Comments Box