जनकपुरधाम, २८ माघ (रासस)
मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सुशासन र भ्रष्टाचार नियन्क्रणका लागि अख्तियारको दायरा र सत्रियता बढाउनुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मिश्रले भ्रष्टाचारको प्रवृत्ति हरेर अख्तियार अझmबढी सक्रिय र सशत्त बन्नुपर्ने बताउनुभयो । “भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले अहिलेसम्म गरेका पहलले केही राम्रो सङ्केत गरे पनि अझm बढी सक्रिय, सशत्त र प्रभावकारी काम गर्नुपर्ने आवश्यकता छ । विगतका असल अभ्यास, कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा जनताले अनुभूत गर्ने गरी काम गर्न अख्तियार र अरू सरोकारवालालाई आग्रह गर्दछु”, प्रदेश प्रमुख मिश्रले भन्नुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचार मुलुकको विकासका लागि क्यान्सरभन्दा ठूलो रोग भएकाले त्यसलाई नियन्त्रणका गर्न सबैले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
“हरेक नागरिकले काम सुरु गर्नुभन्दा अघि नै कति पैसा दिनुपर्छ भन्ने गरेका छन् । हुँदाहुँदा लोकसेवाको परीक्षामा पनि पैसा लिन्छन् होला मिलाइदिनुपर्यो भन्न आउँछन् । यो चिन्ताको विषय हो । त्यसै कारण भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकार सुरुदेखि नै लागिपरेको छ । सुशासनसम्बन्धी ऐन निर्माणको प्रक्रिया पनि सुरु गरिसकेका छौँ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “त्यसका अतिरिक्त सबै मन्त्रालय, कार्यालय, सञ्चारकर्मी र आम नागरिकबाट पनि भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि म सबैलाई आग्रह पनि गर्दछु ।”
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले कानुन देखाएर मात्रै भ्रष्टाचारजन्य समस्या समाधान गर्न सबैभन्दा बढी कर्मचारी र नेता इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । पैसा, लोभ र शक्ति भएका ठाउँमा भ्रष्टाचार मौलाइरहेकाले अख्तियारले पनि त्यसमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।
उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले धार्मिक, नैतिक तथा कानुनीरूपमा हुने अनुचित कार्य रोक्न अख्तियारले प्रभावकारी, स्वच्छ र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्ने तथा सामाजिक अनुशासनका लागि सचेतनामा जोड दिनुपर्ने बताउनुभयो ।
मधेस प्रदेशका मुख्य सचिव दिनेशकुमार घिमिरेले मुलुकमा सुशासन स्थापना गर्ने प्रमुख दायित्व कार्यकारी सरकार तथा कार्यालय प्रमुखको भएकाले त्यसमा सचेत रहनुपर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले संवैधानिकरूपमा अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहे पनि भ्रष्टाचाको अवस्था आउन नदिने दायित्व सरकार तथा कार्यालय प्रमुखको भएको बताउनुभयो ।
त्यसअवसरमा आयोगका बर्दिवास कार्यालयले गरेको सुशासनसम्बन्धी निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः महोत्तरीको श्रीराम माध्यमिक विद्यालय, मटिहानीका छात्रा हिना खातुन, महोत्तरीकै नेहाकुमारी राउत र सिन्धुलीका प्रकृति श्रेष्ठलाई नगदसहित कदरपत्र प्रदान गरिएको थियो ।
Facebook Comments Box