सहारा दैनिक

spot_img
Homeसमाचारविज्ञान र प्रविधिको क्षेत्रमा महिलाको बढ्दो उपस्थिति

विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको बढ्दो उपस्थिति

काठमाडौँ, २७ माघ (रासस)
विज्ञहरुले विज्ञान प्रविधिको क्षेत्रमा महिलाको संख्या बढ्दै गए पनि नीति निर्माण र नेतृत्व तहमा उनीहरुको उपस्थिति न्यून रहेको धारणा राखेका छन् ।
“विज्ञानमा महिला र किशोरीसम्बन्धी अन्तर्राष्ट्रिय दिवस”का अवसरमा आज यहाँ आयोजित गोष्ठीमा बोल्दै विज्ञहरूले राज्यको समावेशी नीति र महिला शिक्षाको पक्षमा बढ्दो जनचेतनाका कारण यस क्षेत्रमा महिलाहरुको संख्या बढ्दो रहेको बताउनुभयो ।
सेन्टर फर नेचुरल एण्ड अप्लाइड साइन्स र गणित विज्ञानमा नेपाली महिला (ओनिम्स)द्वारा संयुक्तरूपमा आयोजित ऊक्त कार्यत्रममा विज्ञहरूले विगतमा पुरुष बाहुल्य रहेको विज्ञान प्रविधि, इन्जिनियरिङ र गणितजस्ता विषयमा संख्या बढेको तर अझै पनि नीति निर्माण र नेतृत्वदायी भूमिकामा भने उल्लेख्य संख्यामा नभएको बताउनुभयो ।
त्यस अवसरमा कार्यपत्र प्रस्तुत गर्दै सेन्टर फर नेचुरल एण्ड अप्लाइड साइन्सकी निर्देशक डा बविता थापाले प्राविधिक क्षेत्रमा महिलालाई नेतृत्व दिने विषयमा नेपालको अवस्था दक्षिण पूर्वी एसियामै कमजोर रहेको बताउनुभयो । “स्थानीय तहदेखि संघीय संसद्सम्म राजनीतिक पदहरू, निजामती सेवाको उच्चस्तर र विज्ञान प्रविधिको क्षेत्रमा महिलाको संख्या दुई प्रतिशतभन्दा कम छ”, उहाँले भन्नुभयो ।
दुई दशकअघिसम्म पुरुषको बाहुल्यता रहेको विज्ञान प्रविधि क्षेत्रमा पेसागत कार्य गर्ने महिलाको संख्या अहिले बढ्दो रहेको उहाँको भनाइ थियो ।
“महिलाहरूले घरपरिवार र बालबच्चाको स्याहार गरेर पनि विज्ञान प्रविधिमा ठूला–ठूला योग्यता हासिल गरेका छन्, तर जिम्मेवारी दिने बेलामा महिलालाई पन्छाएर राख्ने प्रवृत्ति छ”, उहाँले भन्नुभयो ।
“संविधान र कानुनले स्थानीय निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनैपर्ने व्यवस्था गरेपछि अधिकांश पालिकामा महिलालाई उपप्रमुख मात्र दिइयो र वडाध्यक्षमा पनि दुई प्रतिशतभन्दा कममात्र महिला प्रतिनिधित्व गराइयो”, उहाँले भन्नुभयो ।
सूचना प्रविधिविज्ञ एवं इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन प्राध्यापक तिमिला यमी थापाले सन् १९६० को दशकमा आफूले इन्जिनियरिङ पढ्दा नेपाली महिलाको उच्च शिक्षामा निकै कमजोर स्थिति रहेको स्मरण गर्दै अहिले धेरै सुधार भएको बताउनुभयो । “पढाइ सकिएपछि कार्यक्षेत्रमा आउँदा पनि निकै संघर्ष गर्नुपरेको थियो, त्यसैले अब पनि महिला नेतृत्व स्थापित गर्ने हो भने आफ्नो क्षमता विकास र संघर्ष साथसाथै गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
गणितज्ञ कविता लुइँटेलले घरपरिवार र बालबच्चाको जिम्मेवारी सम्हाल्दै गणितजस्तो विषयमा पढाइ अघि बढाउनु र त्यसैमा विज्ञता हासिल गर्नु संघर्षमय काम भएको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -