spot_img
Homeदेशमधेशनेपाली नक्कली नोटको कारोबार गर्ने गिरोहका नाइके सहित पाँच पक्राउ

नेपाली नक्कली नोटको कारोबार गर्ने गिरोहका नाइके सहित पाँच पक्राउ

सहारा संवाददाता–––––––––––––––
कलैया, २५ माघ ।
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित बारा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको नक्कली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँच जनालाई पत्रकार सम्मेलनको आयोजना गरी बिहिवार सार्वजनिक गरेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा परिचालन गरिएको प्रहरी टोलीले एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि निजको वयानका आधारमा बारा जिल्ला स्थित विभिन्न स्थानबाट थप चार जनालाई पक्राउ गरिएको जिप्रका बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीले सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. ५ बस्ने सुमित साह, सन्तोष पटेल, पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो नीरज श्रीवास्तवलाई नक्कली नोट कारोवार आरोपमा पक्राउ गरेको जिप्रका बाराका प्रवक्ता प्रनाउ दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुबाट रु. ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित सात थान मोबाइलसमेत बरामद गरिएको प्रनाउ न्यौपानेले बताउनुभयो ।
पाँच तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारी भएपछि प्रथम, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिलाई नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै पाँचौँ तहका व्यक्तिलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो ।
रु. तीन लाख नक्कली नेपाली नोट लिनका लागि एक लाख सक्कली नेपाली नोट दिनुपर्ने पक्राउ परेकाहरुको अनुसन्धानबाट खुल्न आएको उहाले जानकारी दिनुभयो ।
नक्कली नोट कारोबार गरेबापत पाँच प्रतिशतसम्मको कमिसन दिने गरेको अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।
नक्कली नोटको कारोबार गर्ने व्यक्ति खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली पैसा प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रउ काफ्लेले बताउनुभयो ।
भारतमा नक्कली रुपैयाँ छापेर नेपालको विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने प्रउ काफ्लेले दाबी गर्नुभयो ।
वीरगंज महानगरपालिका वडा नं. १० बस्ने विशालकुमार श्रीवास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रूपमा काम गर्दै आएको उहाले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -