spot_img

भ्रष्टाचारी ठहर रौनियारले गरे एमालेमा प्रवेश



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ मंसिर ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पप्पु कन्स्ट्रक्शन तत्कालिन संचालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन ।
सधै शक्तिको आडमा ठेक्का लिएर अलपत्र छाड्ने तथा कमसल सामग्री प्रयोग गरी गुणस्तरहिन कार्य गर्ने कम्पनिको रुपमा परिचित पप्पु कन्स्ट्रक्शनका तत्कालिन संचालक रौनियार मंगलवार पर्सा जिल्ला पोखरिया नगरपालिकामा आयोजित एक कार्यक्रम विच एमालेमा प्रवेश गरेका हुन ।
विगतमा सक्ता, शत्तिको पहुँच लिएर रौनियारले लिएका ठेक्काहरुमध्ये अधिकांशले खति गरे अनि भ्रष्टाचार, अपारदर्शिता तथा कमसल निर्माणका कारण उनले चलाएको पप्पु कन्स्ट्रक्सन मधेशमा मात्रै होइन, देशका विभिन्न ठाउँमै बद्नाम छ । विशेष अदालतबाट रौनियारसहित उनको कम्पनी भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ ।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असोज ०७५ मा दायर गरेको भ्रष्टाचार मुद्दामा २५ वैशाख २०७९ मा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो ।
रौनियार र उनका छोरा सुमितमाथि विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले जनही रु. ३ करोड ६२ लाख २९ हजार विगो र जरिवाना सजाय सुनाएको थियो ।
२०७४ मा तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएपनि भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए । गुणस्तरहिन निर्माण, काममा चरम ढिलासुस्ती र जताततै ठेक्का लिएर आयोजनाहरु अलपत्र पार्ने क्रम बढेपछि उनले २०७५ सालमा कम्पनीबाट आफू अलग भएको घोषणा गरेका थिए ।
पोखरीयामा मंगलवार आयोजित एमालेको वृहत पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई फुलमाला र टिका लगाएर पार्टी प्रवेश गराउनु भएको छ ।
पार्टी प्रवेश कार्यक्रममा रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेका आरोप लगाए । जसपामा मधेस र मधेसी जनताको हक अधिकार भन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको बताए ।
एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ॅसमृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताउनुभएको छ ।
उहाले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताउदै आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पार्टी सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले देशलाई विकासको बाटोमा अघि बढाउन नेकपा एमाले क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर