वीरगंज, २ मङ्सिर (रासस)
तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा शृङ्गारिने काम भइरहेको छ ।
कतिपय पोखरीका घाटहरूमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट् ैमहत्त्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा, नगवा, छपकैया, श्रीपुर पोखरी तथा रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको सक्रियतामा सरसफाइ गरी सजाउने काम अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारहरूमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक पर्ने सामानको मूल्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् । यो वर्ष भोलि (आइतबार) षष्ठीका दिन विधिपूर्वक साँझको अर्घ्य दिने परम्परा भए पनि यसको मुख्य विधि भने हिजैदेखि निष्ठापूर्वक सुरु भइसकेको छ ।
छठ पर्वको पहिलो दिन हिजो व्रतालुहरूले नहायखाय गरी पर्वको आरम्भ गरेका छन् । छठको दोस्रो दिन आज खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुहरू दिनभरि उपवास बस्ने पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।
“बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ”, उहाँले भन्नुभयो, “यस्तो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्दछन् ।” यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको शास्त्रीले बताउनुभयो । उहाँका अनुसार अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरूले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजार तथा पोखरी, घाटहरूमा भीड लाग्ने गर्छन् । अहिले गाउँगाउँ घरघरमा छठ पर्वको गीत गुञ्जिन थालेका छन् । योसँगै सूर्यषष्टी अर्थात् छठ पर्व प्रारम्भ भएको छ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।
ज्योतिष शास्त्रका आधारमा छठ पर्वको समयमा ब्रहृमाण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदायीसमेत मानिएको पण्डित शास्त्रीले बताउनुभयो । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेको फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गरिन्छ ।
छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । छठका लागि तयार पारिएका घाटहरूमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्दछन् ।
महाभारतअनुसार द्रोपतीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको जनविश्वास रहेको पण्डित शास्त्रीले बताउनुभयो ।
अर्को तिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटलसौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको उहाँको कथन छ । छठ पर्व मनाउनाको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरू पनि त्यतिकै महत्त्व राख्ने शास्त्रीले बताउनुभयो । “जसअनुसार सूर्य तत्त्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्त्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ”, उहाँले भन्नुभयो ।