spot_img

संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न ३० दिने अल्टिमेटम



सहारा संवाददाता––––––––––––––––
जनकपुरधाम, २२ कार्तिक ।
मधेस प्रदेश सरकारले प्रहरी समायोजन लगायत प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न संघ सरकारलाई लागि ३० दिनको अल्टिमेटम दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी ३० दिन भित्र संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न ठोस प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले संविधान बनेको आठ वर्ष र प्रदेश सरकार बनेको छ वर्ष भइसक्दा पनि संविधानको एकल सूचीमा रहेको पहिलो अधिकार नै नपाएको र त्यसका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले समयसीमा तोकेरै माग अगाडि सारेको बताउनु भयो ।
उहाले प्रदेश सरकारले शासन गर्न थालेको छ वर्ष भइसक्यो तर प्रहरी प्रशासनसँग सम्बन्धित एकल अधिकार दिन संघ सरकार तयार छैन । त्यसैले हामीलाई काम गर्न समस्या भइरहेको छ, भन्दै उहाले यो विषयमा आन्दोलन, कानुनी प्रतिवाद र विभिन्न औपचारिक अनौपचारिक माध्यमबाट सरकारको नेतृत्वकर्तालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभए पछि यो पटक वारपारको लडाईं लड्ने गरी हामीले आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेको बताउनु भयो ।
उहाले सरकारको ध्यानाकर्षणका लागि पहिलो चरणमा बिहीबार बिहान १०ः३० बजे आफूसहित प्रदेशका सबै मन्त्रीहरुले काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउने र ३० दिनभित्र माग पूरा नभए वारपारको आन्दोलन गर्ने सर्वदलीय समझदारी बनेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री यादवले संघीयता आयो, प्रदेश सरकार पनि बन्यो तर शासन गर्न अत्यावश्यक प्रहरी समायोजन, निजामती कर्मचारी ऐन, वन, शिक्षा, स्वास्थ्यलगायत महत्वपूर्ण अधिकार केन्द्रकै नियन्त्रणमा छ । पटकपटक आग्रह गर्दा पनि संघ सरकारले तदारुकता नदेखाएकाले निकास निस्किने गरी अन्तिम लडाईं लड्छौँ भन्नु भयो ।
पत्रकार सम्मेलनमा सहभागी मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले ३० दिनभित्र आफ्ना माग सुनुवाइ नगरिए जिल्लादेखि केन्द्रसम्म चरणबद्ध आन्दोलनमा उत्रिने तयारी भएको बताउनुभयो ।
उहाले अब वारपारको लडाईं सुरु हुन्छ, कुनै पनि बहानामा अधिकार रोक्न र खोस्न पाइँदैन । त्यसैले तीस दिनभित्र माग सुनुवाइ नभए काठमाडौँ र प्रदेशका सबै जिल्लाबाट आन्दोलन गर्छौँ भन्नु भयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर