सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको बताउनु भएको छ ।
नेकपा एमालेको मधेश प्रदेश कमिटिका नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वीरगंजमा आयोजित सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
उहाले सरकार असंवैधानिक काम गरिरहेकोमा आपत्ति जनाउदै रिगललाई आममाफी दिएको प्रसंगमा अस्ति मात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्यो । तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् भन्नु भयो ।
उहाले वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको बताउदै ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएकाले त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
पढे लेखे पनि त्यसको सदुपयोग गरेनौं भने पढेलेखेको के काम ? भनी प्रश्न गर्दै उहाले जे छ, त्यसको सदुपयोग गर्न सक्नुपर्छ । होइन भने लोकतान्त्रिक प्रणाली पनि निरर्थक साबित हुन्छ भन्नु भयो ।
अध्यक्ष ओलीले कतिपय ठाउका जनता आतंकित बनेको छ, समाजमा जथाभाबी अराजकता फैलिएको छ, कतै ढुंगा हानिएको छ । उफ्रिएका छन् । कसैलाई खुकुरी हानेका छन् । तर सरकार अराजकता मच्चाउने तत्वलाई कारबाही गर्न सकिरहेको छैन भन्नु भयो ।
कार्यक्रममा अध्यक्ष ओलीले एक अर्को प्रसंगमा गए राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प पिडितहरुलाई तदारुकताका साथ राहतको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
उहाले उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनु भएको छ ।
उहाले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवं राहत सामग्री वितरणमा ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह पनि गर्नु भयो ।
“घाइतेको खोजी र उद्धारका लागि हामी पनि सरकारलाई सहयोग गर्न तयार छौँ”, सामाजिक संघसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न आग्रह गर्नु भयो ।
सो अवसरमा उहाले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आहृवान गर्दै सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने बताउनुभयो ।
मधेसको विकासका लागि पार्टी प्रतिबद्ध रहेको बताउदै उहाले मधेसको गरिबी हटाउने योजनामा काम गर्न स्थानीय तहका नेतालाई निर्देशन समेत दिनु भयो ।
राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेका छन–अध्यक्ष ओली

Facebook Comments Box