spot_img
Homeसमाचारविकासशील मुलुकमा स्तरोन्नति हुन गरिएका नेपालका प्रयास प्रशंसनीय–महासचिव गुटेरेस

विकासशील मुलुकमा स्तरोन्नति हुन गरिएका नेपालका प्रयास प्रशंसनीय–महासचिव गुटेरेस

काठमाडौँ, १२ काक्तिक (रासस)
संयुत्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताउनुभएको छ ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि जनाउनुभयो ।
“नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्”, उहाँले भन्नुभयो ।
कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।
महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने बताउनुभयो ।
महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टु·ोमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसलाका आधारमा पीडित, तिनका परिवार र समुदायमा शान्ति र न्यायको प्रत्याभूति दिलाउनपर्नेमा जोड दिनुभयो ।
महासचिव गुटेरेसले नेपालमा आफ्नो भ्रमणले राष्ट्रसंघ र नेपालबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुटेरेसले आफूले पोखरा र लुम्बिनीको भ्रमण गर्ने जनाउँदै भगवान् गौतम बुद्धले शान्तिका लागि दिएका उपदेश आजको अशान्त र समस्याग्रस्त विश्वका लागि सबैभन्दा धेरै उपयोगी सावित हुने बताउनुभयो । महासचिव गुटेरेसले नेपालमा अन्तर्राष्ट्रिय सहयोग बढाउन पहल गर्ने विश्वास पनि दिलाउनुभयो ।
“नेपाल विश्वको मित्र बनेको छ । त्यसैले विश्वका सबै राष्ट्र अब नेपालको अशल मित्र बन्नुपर्छ । आपसमा सहकार्य र सहयोगले त्यो सम्भव हुन सक्नेछ” महासचिव गुटेरेसले भन्नुभयो । महासचिव गुटेरेसले इजरायल र प्यालेस्टाइनबीचको जारी युद्धका सन्दर्भमा कहिल्यै पनि नागरिकको हत्या, अपहरण र यातना दिने काम कुनै पनि हालतमा न्यायिक हुन नसक्ने स्पष्ट गर्दै गाजाको स्थिति झन खराब हुँदै गइरहेकामा दुःख व्यक्त गर्नुभयो ।
“मलाई दुःख लागेको छ तत्काल मानवीय उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आहृवान गर्दै गर्दा इजरायलले आफ्नो सैनिक कारबाही बढाएको छ”, महासचिव गुटेरेसले भन्नुभयो, “कुनै पनि पक्षले युद्धसम्बन्धी अन्तराष्ट्रिय कानुन र मान्यताको पालना, मानवीयता र आफ्ना दायित्वको सम्मान र पालना गर्नुपर्छ । युद्धका समयमा नागरिकको सुरक्षालाई कसरी ध्यान दिने भन्ने मानवीय कानुन र अभ्यासको पालना अपरिहार्य हुन्छ ।”
गाजा क्षेत्रमा विश्वका झण्डै २० लाख मानिस आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारबाट वञ्चित भइरहेको बताउँदै उहाँले सबै प्रकारका युद्धको बिराम गरी अपहरणमा परेकालाई सुरक्षित फिर्ता गर्न र जोखिममा रहेका गाजाका नागरिकलाई तत्काल उद्धार उपलब्ध गराउन सरोकारवाला सबै पक्षसँग आहृवान गर्नुभयो ।
उहाँले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीका परिवारप्रति शोक व्यक्त गर्दै अहिलेसम्म बेपत्ता रहेका विपीन जोशीको सुरक्षित उद्धारको अपेक्षा गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -