सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ असोज ।
वीरगंज महानगरपालिका वडा नं. १ निवासी पुनम देवीको हत्या आरोपमा पक्राउ परेका इमरान मियाँलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आइतवार जिल्ला प्रहरी कार्यालय पर्साले पक्रकार सम्मेलनको आयोजना गरी गत शुत्रवार विहान २ बजे पुनम देवीकै घरमा मियाँले हत्या गरेको जनाएको छ ।
असोज १९ गते शुक्रवार राती करिव २ बजे लागू औषधको दुर्ब्यसनी रहेको वी.म.न.पा.वडा नं.१ छप्कैया बस्ने रसुल मियाँको २५ वर्षीय छोरा ईमरान मियाँले आफ्नो घर नजिकै रहेको वीमनपा वडा नं. १ को कार्यालयमा सुत्छु भनी गेट चढेर भित्र प्रवेश गरेकोमा भित्रको मूल ढोकाबन्द रहेको कारण बाहिर निस्की नजिकै रहेको मृतक पुनम देवीको घरतर्फ गएको अनुसन्धानबाट खुलेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार बिक्रम थापाले जानकारी दिनु भयो ।
प्रनाउ थापाले दिएको जानकारी अनुसार ईमरान लागू औषध प्रयोग गर्नको लागि चोरी गर्ने उदेश्यले मृतकको घरको झ्यालको मदतले घरको छतमा चढेर छतमा रहेको अं.१ फिट लामो फलामको छड् उठाइ घरभित्र प्रवेश गरेको थियो ।
घर भित्र प्रवेश गर्दा जितिया पर्बको लागि तयारी गर्न पुनम उठिसकेको अबस्थामा जम्काभेट भए पछि महिला डराएर चिच्याउदा इमरानले हातमा रहेको फलामको छड्ले पुनमको टाउकोमा प्रहार गरेको र वेहोस भई ढले पछि नजिकको कोठाको ओछ्यानमा लगेर राखेको अभियुक्तको बयानलाई उद्दत गर्दै प्रनाउ थापाले बताउनु भयो ।
इमरानले कोठाको बत्ती बालेर हेर्दा महिलाको आँखा खुलेको देखेर पुनः सोही फलामको छडले पटक–पटक टाउकोमा प्रहार गरी घरको मूल ढोका खोलेर बाहिरबाट चुकुल लगाएर पूर्वतर्फ भागेको अनुसन्धानबाट खुलेको उहाले बताउनु भयो ।
इमरानले घटना पश्चात वारदातको समयमा लगाएका कपडा नजिकै रहेको खोलामा र फलामको छड घटनास्थलबाट पुर्ब तर्फ रहेको धान खेतमा फालेको अबस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
भारत विहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल वी.म.न.पा.वडा नं. १ छप्कैया बस्ने गगनदेव प्रसादकी श्रीमती अ.बर्ष ४० की पुनम देबी राती खाना खाई आफ्नै सुत्ने कोठाको ओछ्यानमा एक्लै सुतेको अवस्थामा निजकी दिदी निलम देवी साहले जितीया पर्वको पुजाको लागि उठाउन जाँदा बोलाउदा नबोलेको, घरको ढोका बाहिरबाट लगाएको अवस्थामा ढोका खोलेर हेर्दा टाउकोमा गहिरो चोट लागि गम्भिर अबस्थामा देखेर तत्काल आफन्त बोलाइ उपचारको लागि नारायणी अस्पताल हुदै थप नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंजमा लग्दा उफचारको क्रममा शुत्रवार बिहान ७ः४५ बजेको समयमा मृत्यु भएको थियो ।
शुक्रवार घटना पश्चात जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रउ कोमल शाहको नेतृत्वमा खटेको टोलीले अनुसन्धान पश्चात अभियुक्तलाई शनिवार पक्राउ गरी आइतवार जिल्ला अदालत पर्साबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।