spot_img

पाँच दिन सम्म रात्रि बजार लगाउने तयारी



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ असोज ।
वीरगंज महानगरपालिकाले रात्रि बजार पुनः संचालन गर्ने तयारी गरेको छ ।
नेपालीहरुको महान पर्व दशैं नजिकिंदै गरेको र मौसमसमेत सुधार भएकाले पछिल्लो दुई महिनादेखि रोकिएको ॅरात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको हो । महानगरले यस पटकको ॅरात्रि बजार’ ५ दिन लगाउने गरि तयारी गरिरहेको जनाइएको छ ।
दशैंको पहिलो दिन घटस्थापनाबाट सुरु गर्ने गरि मेला लगाउने तयारी गरेको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।
उहाले असोज २८ गते घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने मेला कात्तिक २ गतेसम्म ५ दिन चल्ने गरि लगाउने तयारी थालेको बताउनु भयो ।
त्यसै गरी महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगंजस्थित मुख्य नाका ५ दिनका लागि राति १२ बजेसम्म खुल्ला रहने जनाएको छ । रात्रि बजारमा पर्यटक भित्रियाउन वीरगंज नाका रातको १२ बजेसम्म खुल्ला रहने मेयर सिंहले बताउनुभयो ।
नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसंग सहमति लिइसकेको जनाएको छ ।
महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्रियाउन महानगरले गत बैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो ।
यस पटकको ॅरात्रि बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरि सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ । त्यसका लागि घरेलु तथा साना उद्योग कार्यालयसंग सहकार्य गरिएको छ ।
दशैं लक्षित रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरु समेत राखिने जनाइएको छ ।
रात्री बजारका लागी आदर्शनगर स्थित पुरानो बसपार्कमा करिब १ सय स्टल लगाउने गरी तयारी गरिएको हो । प्रति स्टल २ हजार रुपैया शुल्क राखिएको एनवाईईएफ वीरगंजका संस्थापक अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर