spot_img

अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुन्छ–मन्त्री बस्नेत



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ असोज ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनु भएको छ ।
नारायणी अस्पताल वीरगंजको १ सय ३१ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनुभएको हो ।
उहाले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताउदै स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको बताउनु भयो ।
चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउदै उहाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुने बताउनु भयो ।
मुलुकको विभिन्न भागमा भएको चिकित्सकमाथिको दुर्व्यवहार र आक्रमणप्रति सरकार गम्भीर छ, भन्दै उहाले चिकित्सकमाथि दुर्व्यवहार गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको भन्नु भयो ।
मन्त्री बस्नेतले सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्ष नजिक पुगिसकेकाले छिट्टै समस्या समाधान हुने बताउदै चिकित्सकलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन आग्रह पनि गर्नुभयो ।
उहाले नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै त्यसका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।
ऐतिहासिक र राष्ट्रिय प्रतिष्ठासंग समेत जोडिएको नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाले भविष्यमा नारायणी अस्पताललाई शिक्षण अस्पतालको रूपमा समेत विकास गर्न सकिने गरी काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वस्थ्य प्रदेश बनाउने गरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्त्री सिंहले मधेस प्रदेशका सातवटा अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरोन्नति गरिएको बताउँदै उहाँले अस्पताल नभएका प्रदेशका चार स्थानमा ५० शय्याको प्रादेशिक अस्पताल निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाले वीरगंज स्थित प्रादेशिक आयुर्वेद अस्पताललाई १० शय्याको अस्पतालका रूपमा विकास गर्ने गरी कार्य अघि बढाएको पनि बताउनु भयो ।
सो अवसरमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि तत्काल कार्य अघि बढाउन संघीय सरकारसँग आग्रह गर्दै त्यसका लागि महानगरपालिकाले भवन निर्माण गरिदने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाले वीरगंजले ४७ प्रतिशत राजस्व तिर्दै आए पनि त्यो अनुसारको विकासका लागि बजेट उपलब्ध नगराएको प्रति दुःख व्यक्त मेयर सिंहले वीरगंजको स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न पनि संघीय सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्सा क्षेत्र नं. १ का सांसद समेत रहेका जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले काठमाडौँको वीर अस्पतालसँगै नारायणी अस्पताल निर्माण भए पनि सरकारी उदासिनताका कारण नारायणी अस्पतालले जनशक्ति र उपकरण अभावसँगै सरसफाइको समस्या भोग्दै आएको बताउदै तत्काल नारायणी अस्पतालमा दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
त्यसै गरी नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न माग गर्दै अस्पतालको सेवामा सुधार ल्याउन आफ्नो संसदीय कोषबाट बजेट उपलबध गराउने घोषणा गर्नुभयो । सो अवसरमा नेकपा एमालेका सांसद प्रभु हजराले नारायणी अस्पतालको अपलत्र परेको पाँच सय शय्याको अस्पताल भवन निर्माणको काममा देखिएका बाधालाई फुकाएर तत्काल निर्माणकार्य अघि बढाउन आग्रह गर्नुभयो ।
सो अवसरमा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले हाल तीन सय ५० शय्याको अस्पतालसँगै आइसीयू, डाइलायसिसलगायत सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न ठाउँसहित छिमेकी मुलुक भारतबाट समेत आउने दैनिक एक हजार भन्दा बढी बिरामीलाई ओपिडी सेवामार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको बताउदै भौतिक संरचनाको अभाव र दरबन्दीअनुसारको जनशक्ति नहुँदा उपचार गर्न समस्या भइरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री बस्नेतले नारायणी अस्पतालको भौतिक पूर्वाधार निर्माणमा योगदान गरेवापत वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, सहरी विकास तथा भवन कार्यालय वीरगंजका प्रमुख मदन राय लगायतलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्‍याए वापत वरिष्ठ चिकित्सक डा रामअवतार खेतान, डा गोपालप्रसाद गजुरेल र राधाकृष्ण कोइरालालाई पनि मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर