सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ असोज ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले निजी क्षेत्र र सरकारबिचको खाडल पुर्न र निजी क्षेत्रको उत्थानका लागि सरकार गम्भीर भएको बताउनु भएको छ ।
वीरगंज स्थित होटल दियालो लर्डस प्लाजामा शुक्रवार पर्सा बाराका उद्योगी व्यवसायीहरुसंगको छलफलमा उहाले यस्तो बताउनु भएको हो ।
उहाले वैद्य व्यवसायलाई प्रोत्साहन गर्दै अवैध कारोबारलाई निरुत्साहन गर्नका लागि सरकार र निजी क्षेत्रबिच हातेमालो हुनुपर्नेमा जोड दिंदै अवैध रूपमा आएका सामग्रीहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूला प्रतिष्ठित व्यवसायीसंग जोडिने गरेको पनि बताउनु भयो ।
राजस्वको लक्ष्य पूरा गर्नका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्दै उहाले अर्थतन्त्रको संवेदनशीलता र जटिलताप्रति राजस्व अनुसन्धान विभाग सचेत रहेको समेत आश्वस्त पार्दै उद्योगी व्यवसायीहरूको गुनासो तथा समस्याको सम्बोधन गर्ने बताउनु भयो ।
छलफलका क्रममा अवैध रूपमा कारोबार गर्ने व्यवसायीले गर्दा राज्यको राजस्व चुहावट हुनुका साथै वैद्य रुपमा व्यवसायी गर्ने व्यवसायीहरूले नोक्सानी बेहोर्नु परिरहेको वीरगंजका उद्योगी व्यवसायीले दुखेसो पोखेका छन् ।
छलफलका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संघीयता पश्चात् तीन तहको सरकारबिचको अपसमन्वयका कारण उद्योगी व्यवसायीले पिडा भोग्नु परेको बताउनु भयो ।
उहाले संघ सरकारको पहिलैदेखि तिर्दै आएको करसंगै प्रदेश र स्थानीय सरकारले थपेका कर पनि तिर्दा–तिर्दा व्यवसायबाट पलायन हुने अवस्था आएको बताउनु भयो ।
कुन कर कुन सरकारले लिने भन्ने बारेमा तीन तहको सरकारबिच आवश्यक समन्वय र समझदारी हुनुपर्ने उहाले सुझाव दिनु भयो ।
उहाले निजी क्षेत्र राजस्व चुहावट नियन्त्रणको पक्षमा रहेको विश्वास दिलाउदै सीमा क्षेत्रमा सिसी क्यामरा जडान देखि अन्य निगरानी बढाई सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिनु भयो ।
त्यसै गरी जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले सरकारका नीतिगत एवम् संरचनागत समस्यासंगै झन्झटिलो प्रक्रियाले गर्दा अवैध रूपमा हुने व्यवसाय फस्टाउदै गएको बताउनु भयो ।
उहाले सरकारले नै व्यवसायीलाई कालोबजारी गर्न प्रोत्साहन गरिरहेको आरोप पनि लगाउनु भयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले अन्तर सरकारी सम्बन्ध मजबुत नहुंदा त्यसको मारमा निजी क्षेत्र परेको गुनासो गर्नु भयो ।
उहाले देशमा उद्योगी व्यवसायीले व्यवसाय गर्ने वातावरण नभएको बताउदै व्यवसाय गर्न खोज्दा करमाथि कर लादेर अनावश्यक झन्झट दिएर बन्द गर्न बाध्य बनाउने गरेको बताउनु भयो ।
त्यस्तै उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहले सरकारले अर्थतन्त्र चलायमान बनाउने बारेमा गम्भीर भएर सोच्न नसकेको बताउनु भयो । पछिल्लो समय बेरोजगारीको समस्या बढ्नु र विद्यार्थीदेखि श्रमिकसम्म विदेशतिर आकर्षित हुनुले देशको भविष्य चिन्ताजनक हुने संकेत गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले सबैलाई समान नियम लाग्ने दिनको प्रतीक्षामा व्यवसायीहरु रहेको बताउनु भयो ।
उहाले यहाँ नयाँ सिडिओ, नयाँ एसपी, नयाँ भन्सारको हाकिम, कर कार्यालयको नयाँ हाकिम को आउने भन्ने चिन्ता हुन्छ । अनि कस्तो स्वभावको छ ? उसको पृष्ठभूमि के हो भन्नेमा केन्द्रित हुनुपर्ने अवस्था छ । यसको अन्त्य हुनका लागि सबैलाई बराबर नियम हुनुपर्छ भन्नु भयो ।
उहाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत भन्सारका कर्मचारी तैनाथ हुंदा–हुंदै पनि अवैध रूपमा कारोबार किन भइरहेको छ भन्दै प्रश्न गर्नु भयो ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठले बैंकको चर्को ब्याजदरकै कारण कतिपय उद्योगी व्यवसायीले आत्महत्या गरेको र कतिजना अहिले आत्महत्या गर्ने अवस्थामा रहेको बताउदै घर जग्गा लिलामी हुन लागेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
उहाले बैदेशिक लगानी भित्रिने वातावरण बनाउनुपर्ने आवश्यकता आौल्याउदै झन्झटिलो र अनावश्यक दुःख दिने प्रक्रियालाई सहज बनाउन सुझाव दिनु भयो ।
उहाले उद्योगी व्यवसायीले लामो समयदेखि उठाउदै आएको ट्रेड मार्कको माग सम्बोधन हुन नसकेको स्मरण गराउदै भन्सारमा र सडक मार्गमा पनि स्क्यानर राख्न सुझाव दिनु भयो ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्य, प्रदीप केडिया, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष् लाठ लगायतका उद्योगी व्यवसायीहरूले राजस्व चुहावटसंगै आयातमा रहेका नीतिगत संरचनागत तथा प्रणालीगत समस्याका बारेमा राजस्व अनुसन्धान विभागका महानिर्देसक नवराज ढुंगानालाई ध्यानाकर्षण गराएका छन ।