spot_img
Homeसमाचारविदेशबाट काठ ल्याउन रोक्नपर्छ–मुख्यमन्त्री जम्कट्टेल

विदेशबाट काठ ल्याउन रोक्नपर्छ–मुख्यमन्त्री जम्कट्टेल

चितवन, ६ असोज (रासस)
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताउनुभएको छ ।
नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनको रजत महोत्सव समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौंका काठ विदेशबाट ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ हामी काठ काट्न नदिने अनि विदेशबाट काठ ल्याउने नेपालीलाई चाहिने काठ नेपालमै छ । विदेशबाट काठ ल्याउन हामीले रोक्नुपर्छ ।”
उहाँले बागमती प्रदेश सरकारले ऐनमा संशोधन गरेर उपभोक्तालाई आवश्यक काठ दिने नीति बनाउन लागेको बताउनुभयो । उहाँले थप्नुभयो, “हामी जथाभावी काठ काट्न दिदैँनौँ तर काठ दिन रोक्न पाइँदैन ।”
उहाँले वन जङ्गल जोगाउनु सबैको कर्तव्य भएको भन्दै वनबाट फाइदा पनि लिनपर्ने बताउनुभयो । हाम्रोजस्तो विविधताले भरिएको मुलुक अन्त कतै नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले वनबाट झरेको पातबाट प्राङ्गारिक मल बनाउन लागेको जानकारी दिनुभयो ।


सरकारको नीति तथा कार्यक्रम र बजेटमा राखेर प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नेतर्फ सरकार लागेको उहाँको भनाइ थियो ।
सङ्घीय लोकतात्रिक गणतन्त्र नेपाललाई समृद्घ नेपाल बनाउने जिम्मेवारीका साथ सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने भन्दै उहाँले नयाँ तरिकाले कृषि कर्म गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानका नाममा धेरै प्रतिशत अनुदान दुरुपयोग भएको छ । अब व्यक्तिलाई अनुदान नदिई समुदायमा आधारित कृषि उत्पादनको मोडेलमा बागमती प्रदेश सरकार जान लागेको छ ।”
फरक प्रसङ्गमा मन्त्री जम्कट्टेलले नर्सिङ पढ्नका लागि बागमती प्रदेश सरकारले क्षमता भएका कलेजमा पढ्नका लागि खुला गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब नर्स पढ्न बागमती प्रदेशमा बन्देज हुँदैन ।” उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपाली नर्स तथा चिकित्सकको माग बढिरहेको अवस्थामा यहाँ पढ्नै नपाउन गरी रोक्न नहुने बताउनुभयो । कतिमा पढाउने भन्ने कुराको पनि सूचना आइसकेको उहाँले जानकारी गराउनुभयो ।


कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा आम सेवाग्राहीको स–साना गुनासासमेत सम्बोधन गरेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले धेरै कामको थालनी गरेका छौँ, कतिपय कामको सकारात्मक प्रतिफल पनि आइसकेको छ ।”
कार्यक्रममा वन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिको सहभागिता रहेको थियो । ॅहाम्रो लगानी हरेक बोट, जनजनमा सामुदायिक वन संरक्षणको २५ औँ वर्षको रजत महोत्सव’ भन्ने मूल नाराका साथ नवजागृति सामुदायिक वन उपभोक्ता समूहले विभिन्न कार्यक्रम गरी रजत महोत्सव समापन गरेको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -