सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ भदौ ।
वीरगंज महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जिआईएस बेस्ड हाउस नम्बरिङ) थालनी गर्न सुरुवात गरेको छ ।
बढ्दो शहरीकरणसंगै घर संख्या बढ्दै गएकाले नगरवासीका घर सहजै पहिचान गर्न सकियोस भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरिएको हो ।
महानगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रुपमा विकास गर्न यो प्रणालीले टेवा पु¥याउने महानगरका मेयर राजेशमान सिंहले बताउनु भयो ।
महानगरको आरयूडीपी प्रोजेक्ट अन्तर्गत एडीवीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकहरुले आवश्यक तथ्याङक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् ।
वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा स्थित नेपाल इन्भेष्टमेन्ट मेघा बैंक रहेको भवनमा मेयर सिंहले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणालीको उद्घाटन गर्नुभएको हो ।
आदर्शनगर चोकदेखि ठाकुरराम क्याम्पस सम्मको सडकलाई पशुपति घोष मार्ग नामाकरण गरि २३० नम्बरको नम्बर प्लेट टाँस गरिएको हो ।
सडकको चोक तथा मिलन विन्दु (दोबाटो र चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोहि आधारमा घर–घरमा नम्बर प्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
पहिलो चरणमा महानगरको वडा नं. १ देखि १६ सम्म जिआईएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्वे गरि सबै सडकको नामाकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआईएस विज्ञ उमेश कुंवरले बताउनु भयो । आवश्यक डाटावेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँ तर्फ जोर नम्बर र बाँया तर्फ विजोर नम्वर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उहाले बताउनुभयो ।
पशुपति घोष मार्गमा आजै ५५ वटा घरमा नम्बरिङ गरिएको छ । १६ वटै वडाको करिब ३३ हजार भन्दा बढी घरमा नम्बरिङ गर्ने गरि तयारी भएको र पहिलो चरणमा कम्तिमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिनुभयो ।
यो प्रणालीमा सडक÷गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआईएस टेक्निसियनसमेत रहेका सब इन्जिनियर अर्चन आचार्यले बताउनु भयो ।
घरसंग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने पनि उहाले बताउनु भयो । नम्बरप्लेट राख्नुका साथै सडक र गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिने गरि काम भइरहेको हुंदा कोही कसैको पनि सहजै ठेगाना पत्ता लगाउन सकिने छ ।
Facebook Comments Box