spot_img

समाजवादी मोर्चाको मधेश प्रदेश स्तरीय सन्देशसभाः जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ–प्रधानमन्त्री



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको बताउनु भएको छ ।
समाजवादी मोर्चाद्वारा शुक्रवार वीरगंजमा आयोजित मधेश प्रदेश स्तरीय सन्देशसभालाई सम्बोधन गर्दै प्रम प्रचण्डले यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध भइरहेको ठूलो प्रपञ्च बडो दुःखद कुरा हो, यसलाई हामीले गम्भीर रुपमा लिएको बताउनु भयो ।
उहाले प्रतिगामी शक्ति विरुद्ध र जनतालाई समाजवादको यात्रामा डो¥याउन समाजवादी मोर्चा बनाएको बताउदै पुराना एजेण्डा र विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको बताउनु भयो । सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ, अब यसबाट पछि हट्दैन भन्नु भयो ।
प्रम प्रचण्डले विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पु¥याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई निष्कर्षमा पु¥याउने दावी पनि गर्नु भयो ।
उहाले सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरुको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई पनि अघि बढाएको बताउदै निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने पनि जानकारी दिनु भयो ।
सो अवसरमा उहाले लामो समयदेखि रोकिएको संघीय शिक्षा ऐन, संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा समाजवादी मोर्चाका संयोजक समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै पनि संविधानको अपब्याख्या गर्ने र संकटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न समाजवादी मोर्चा बनाएको बताउनु भयो ।
उहाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्ध मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको बताउदै अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नपरोस, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका बताउनु भयो ।
उहाले देशमै स्वरोजगारी सिर्जना कामलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिंदै वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने उद्घोष पनि गर्नुभयो ।
अध्यक्ष्ँ नेपालले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव पनि दिनुभयो ।
त्यसै गरी कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताउनुभयो ।
बलिदानीबाट प्राप्त उपलब्धि संकटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको बताउदै संघीयता मजबुत बनाउनु र सुशासन कायम गर्नु मोर्चाको लक्ष्य भएको बताउनुभयो । मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्दा पनि मधेसी लगायतका उत्पीडित वर्ग, समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको बताउदै समावेशिताको नाममा केवल बाध्यात्मक कुरालाई मात्र कार्यान्वयन गरिँदै आएको बताउनु भयो ।
मधेसको विकासविना मुलुकको विकास सम्भव नभएको बताउदै अध्यक्ष यादवले मधेसमा संचालित योजना समयमा सम्पन्न नहुने परिपार्टीको अन्त्य हुनु पर्नेमा पनि जोड दिनु भयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले दलाल पुँजीवादले मुलुकलाई निकास दिन नसक्ने भएकाले त्यसका विरुद्ध समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको बताउनु भयो ।
यसै विच समाजवादी मोर्चाले मधेस प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा गरेको छ ।
सन्देशसभा कै क्रममा मोर्चामा आबद्ध चार दलबाट तीन÷तीन जना प्रतिनिधी रहने गरी १२ सदस्यीय मधेस प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको छ ।
मोर्चामा माओवादी केन्द्रबाट लिलामणि पोखरेल, अशोक जयसवाल र रामकुमार शर्मा, एकीकृत समाजवादीबाट धर्मनाथ साह, रामचन्द्र झा र सुधिर साह, जनता समाजवादी पार्टीबाट लालबाबु राउत, शैलेन्द्रप्रसाद साह र हरिनारायण यादव र नेकपाबाट सुदर्सन सिंह, विनोद सिंह र रामकुमारी सिंह रहेका छन ।
प्रदेशस्तरीय मोर्चाको संयोजक छ÷छ महिनामा फेरिने र पहिलो कार्यकालका लागि मधेश प्रदेश संयोजकको जिम्मा जसपालाई दिइएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर