वीरगंज, २३ साउन (रासस)
पर्साको पर्सागढी नगरपालिका–३ औरहयिामा स्थानीयवासीले अतिक्रमण गरी वर्षाैंदेखि खेती गर्दै आएको करिब साढे चार हेक्टर जग्गामा डिभिजन वन कार्यालय पर्साले वृक्षरोपण गरेको छ ।
स्थानीयवासीले अतिक्रमण गरी खेतीपाती गर्दै आएको चार दशमलव २३ हेक्टर जग्गा पालिकाको सहयोगमा जग्गा अतिक्रमण मुक्त गरेर घेरबार गरी डिभिजन वन कार्यालय पर्साले विभिन्न जातका करिब सात हजार बोट बिरुवा रोपेको हो ।
अतिक्रमित जग्गामा वृक्षरोपण गर्ने अभियानअन्तर्गत सो जग्गामा खयर, अमला, सिमल, सिसौलगायतका विभिन्न जातका सात हजार वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो । अतिक्रमणमा परेको जग्गालाई खोजतलास गरी वृक्षरोपण गर्ने अभियानअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि वृक्षरोपण गरिने प्रमुख दासले बताउनुभयो ।
सामुदायिक वन क्षेत्र विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९÷८० मा पर्साको बहुदरमाई नगरपालिका–२ मा १३ हेक्टर र पटेर्वा सुगौली गाउँपालिका–१ मा २० हेक्टर गरी ३३ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको प्रमुख दासको भनाइ छ ।
विगत एक वर्षको अवधिमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रमलाई प्रभावकारी ढ·ले कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै प्रमुख दासले संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सबै पक्षको सहयोगमा ७० प्रतिशत कार्यान्वयन गराउन सफलता मिलेको बताउनुभयो ।
डिभिजन वन कार्यालय पर्साका अनुसार आव २०७९÷८० मा एक वर्षे बिरुवा सात लाख र दुई वर्षे बिरुवा एक लाख उत्पादन गरी निःशुल्क वितरण गरिएको छ । बढ्दो चोरी तस्करीलाई निरुत्साहित गर्न नियमित वन गस्ती सुरु गरेपछि आव २०७९÷८० मा एक हजार पाँच सय ८८ क्युविक फिट काठसहित ५१ जनालाई पक्राउ गरिएको प्रमुख दासले जानकारी दिनुभयो । सो क्रममा ७२ हजार क्युविक फिट ढालापारा काठसमेत सङ्कलन भएको उहाँले बताउनुभयो ।
यस्तै ग्रामीण भेगका वनमा विविध जातका बिरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागिसमेत विशेष कार्ययोजना तयार पारेको प्रमुख दासको भनाइ छ । वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न सरोकारवालासमेतको रायसुझावमा एकीकृत कार्ययोजना बनाएर बढ्दा सफलता मिल्दै गएको उहाँले बताउनुभयो ।
यस्तै तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षरोपण, जीविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ । बर्सेनि ज·ल क्षेत्र कम हुँदै गई साँघुरो बन्दै जानु, ज·ली जनावरको अस्तित्व सङ्कटमा पर्नु तथा हरियाली प्रवर्द्धन कार्यसमेत प्रभावित भइरहेका बेला वन कार्यालयले तयार पारेको कार्ययोजनाले जिल्लालाई आफ्नै क्षेत्रको वनमा आत्मनिर्भर बनाउन महत्त्त्पूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।