spot_img

आँखा पाक्ने रोगले विद्यालयहरु धमाधम बन्द



धनुषा, २१ साउन (रासस)
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।
त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाले पनि एक सूचना जारी गर्दै साउन २२ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यसैगरी अन्य नगर तथा गाउँपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।


जनकपुरस्थित जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा आशिष बोहोराले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको बताउनुभयो ।
अस्पतालमा पछिल्लो केही दिनदेखि आँखा रोगका बिरामीको भीड पनि बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक बढीमा दैनिक छ सय ५० जनासम्म उपचार गराउन आउने भए पनि अहिले आठ सयभन्दा बढी आइरहेका छन् । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी संख्या बढेको डा बोहोराले बताउनुभयो ।
डा बोहोराले यस साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक एक सय ५० जनासम्म बिरामी आएको बताउनुभयो । गत साता यस्तै समस्या लिएर आउने बिरामी संख्या ४०÷४५ जना मात्रै थियो । जनकपुरसहित अहिले गाउँगाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ । सबैभन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको एक गैरसरकारी संस्थामा सामाजिक परिचालक अनिता यादवले सात वर्षीय छोरालाई चार दिनदेखि आँखा पाक्ने रोगले सताएकोमा आजदेखि आफू पनि प्रभावित भएको बताउनुभयो ।
उहाँले छोरालाई ठीक हुन लागेको तर आफूलाई नै आँखा पाक्ने रोग सरेको बताउनुभयो । जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा बोहोराका अनुसार सङ्क्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिँड्न गाह्रो हुनेलगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।
चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्न पनि आग्रह गरिएको छ ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर