spot_img

खानेपानी मन्त्रीसंग पर्साका जनप्रतिनिधीहरुको छलफलः मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गराउछु–मन्त्री यादव



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ साउन ।
वीरगंज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् ।
वीरगंजमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री यादवसामु महानगरका ३२ वटै वडाका वडाअध्यक्षहरुले खानेपानीको चरम संकट परेकाले तत्काल समस्या समधान गरिदिन गुहार लगाएका हुन् ।
वीरगंज महानगरमा पछिल्लो दुई हप्ता देखि ९० प्रतिशत चापाकल सुक्दा खानेपानीको संकट उत्पन्न भएको छ ।
महानगरपालिकाले वडा–वडामा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । तर त्यसले पानीको संकट नटरेकाले स्थायी समधानका लागि बिहीबार वीरगंजमै खानेपानी मन्त्री यादवलाई बोलाएर महानगरपालिकाले छलफल कार्यक्रम गरेको हो ।
कार्यक्रममा ३२ वटै वडाका वडाअध्यक्षहरुले पानीको चरम संकटले महानगरवासी त्राहिमाम भएकाले पानीको समस्या समधानका लागि मन्त्री यादवलाई आग्रह गरेका हुन ।
मन्त्री यादव समक्ष वडाअध्यक्षहरुले हरेक वडाको सार्वजनिक स्थाानमा नेपाल खानेपानी संस्थानको धारा जडान गरिदिन आग्रह गर्दै नीजी घरमा संस्थानको धारा जडान गर्ने प्रकृया झन्झटीलो हुनुका साथै समयपनि बढि लागि रहेकाले नगरवासी थप पिडामा परेको गुनासो व्यक्त गरेका छन ।
वडा अध्यक्षहरुले संस्थानको पाइप लाइन १ देखि १७ र १९ नम्बर वडामा मात्रै छ , बांकी १४ वटा वडामा पाइपलाइन नै छैन , पाइपलाइन पुगेका ठाउमा पनि संस्थानले सहज र छिटोछरितो धारा जडान नगरेको गुनासो पनि गरेका छन ।
सो अवसरमा वीरगंज महानगरका मेयर राजेशमान सिंहले महानगरका ३२ मध्ये २२ वटा वडा ( वडा नम्बर १ देखि १७ र १९ ) मा रहेका ९० प्रतिशत चापाकल सुकेको जानकारी दिनु भयो ।
उहाले पानीको हाहाकारले संकट खेपिरहेका महानगरबासीलाई राहत दिन महानगरपालिकाले ठाउ–ठाउमा डिप बोरिङ र सार्वजनिक धारा जडान गर्नुका साथै ट्यांकरबाट पानी वितरण गरिरहेको बताउनु भयो । तर महानगरपालिका संग भएको सिमित बजेट र श्रोत–साधनले थेग्न नसकिरहेकाले यसमा संघ र प्रदेश सरकारले तत्कालै अग्रसरता लिनुपर्ने बताउनु भयो । उहाले मधेसलाई तत्काल ‘ सुख्खाग्रस्त क्षेत्र’ घोषणा गर्न पनि संघ सरकारसंग माग गर्नु भयो ।
कार्यक्रममा खानेपानी संस्थानका वीरगंज शाखा प्रमुख निरण महर्जनले कार्यालयमा नयाँ धारा जडान गर्न चाहने सेवाग्राहीको चाप एक्कासी बढेकोले जनशक्तिको कमीले समस्या भएको बताउनु भयो ।
खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुषालले खानेपानीको चरम संकटको सामना गरिरहेको वीरगंज महानगरमा संस्थानले अरु ५ वटा महानगर भन्दा सबै भन्दा बढि जनशक्ति र श्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद मरासिनीले संस्थानको पाइप लाइन नबिछ्याइएका महानगरका बांकी वडामा पाइपलाइन बिछ्याउनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन मन्त्री यादवसंग अनुरोध गर्नु भयो ।
कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य श्याम पटेलले वीरगंज महानगरसहित पर्सा जिल्लामा देखिएको पानीको संकट बारे अहिलेसम्म बैठक र भाषण गर्ने काममात्रै भएका तर समस्या समाधानका लागि कुनै ठोस पहल हुन नसकेको बताउनु भयो ।
त्यसै गरी पर्सा क्षेत्र नं. २ का सांसद सदस्य अजय चौरसियाले अर्थमन्त्री प्रकाशरण महतलाई नै भेटेर वीरगंज सहित पर्सा जिल्लामा निम्तिएको पानीको संकट समाधानका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको जानकारी दिनु भयो ।
संसद विकास कोषको रकम रु. १ करोड भन्दा कमको योजनामा खर्च गर्न नपाउने संवैधानिक प्रावधानले समस्या भएको बताउदैं उहाले त्यसमापनि संसद विकास कोष विरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ , त्यो मुद्धा छिनोफानो हुने बित्तिक्कै मैले मेरो संंसद विकास कोषको १ करोड रकम डिप बोरिङ जडानमा खर्च गर्ने घोषणा गर्नु भयो ।
त्यस्तै सांसद प्रदीप यादवले वीरगंज सहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफुले संसदमा पटक पटक आवाज उठाएको बताउनु भयो ।
कार्यक्रममा सहभागी वीरगंज महानगर सहित पर्सा जिल्लाका जनप्रतिनिधीहरुको गुनासो सुनेपछि खानेपानी मन्त्री यादवले अब बस्ने मन्त्रीपरिषद बैठकबाटै मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाले पानीको संकटको सबैभन्दा बढि सामना गरिरहेकोे वीरगंज महानगरपालिका मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउदै उपलब्ध साधन–श्रोत र बजेटले भ्याएसम्म महानगरको समस्या समाधानमा आफु लाग्ने बताउनु भयो ।
उहाले वीरगंज स्थित संस्थानको कार्यालयमा अन्य जिल्लाबाट जनशक्ति झिकाएर थप गर्ने र अहिले उपलब्ध जनशक्ति र साधन–श्रोतको भरपुर उपयोग गरेर सेवा प्रवाह गर्न कार्यक्रममा सहभागी संस्थानका अध्यक्ष , महाप्रबन्धक र शाखा प्रमुखलाई निर्देशनपनि दिनु भयो ।
महानगरका मेयर सिंहको अध्यक्षतमा आयोजित छलफल कार्यक्रममा प्रदेश सभा सदस्य प्रमोद जयसवाल , जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ ,संविधानसभा सदस्य अजय द्विवेदी , वीरगंज महानगरपालिका उपमेयर इम्तियाज आलम , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ , जनता समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका साथै महानगरका ३२ वटै वडाका वडाअध्यक्ष , राजनीतिक दलका नेता लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर