spot_img

बोक्सी आरोपमा कुटपिट गर्ने उपर कारवाहीको माग



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ साउन ।
वीरगंज महानगरपालिका वडा नं. २४ बहुवरीमा ‘बोक्सी’को आरोपमा भएको कुटपिट घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
इन्सेक नेतृत्वमा स्थलगत अध्ययन गरेको टोलीले प्रतिवेदन सार्वजनिक गरेको हो ।
बीमनपा वडा नं. २४ बहुवरी टोलकी ७० वर्षीया पर्वतीया देवी अहिरिनलाई स्थानीय ५० वर्षीय काशी राउत अहिर र उनका २५ वर्षीय छोरा ब्रजेश राउत अहिर (यादव) लगायतले ‘बोक्सी’को आरोपमा कुटपिट गरेको इन्सेकबाट अध्ययनका लागि पर्सा पुगेको टोलीले जनाएको छ ।
कुटपिट घटनामा संलग्न भनिएका आरोपित काशी राउत अहिरको ४८ वर्षीया पत्नी दुर्गा देवी राउत अहिरीन बिरामी भइरहने र आफूलाई ‘बोक्सी’ लगाएको भन्दै विगत केहि दिनदेखि गालीगलौज समेत गर्दै आएको पीडित पर्वतीया देवी अहिरिनले बताएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसअघि पनि गाउ“कै दिलिप यादवको ४५ वर्षीया पत्नीलाई ‘बोक्सी’को आरोपमा काशी राउत अहिर लगायतले घरमै गएर गाली गलौज गरेको पीडित पक्षको आरोप छ ।
काशी राउत अहिरको पत्नी बिरामी भइरहने र बिरामी पारेको भनि गाउ“कै दुई जना महिला उपर ‘बोक्सी’ आरोप लगाएको र पछिल्ला समय ज्येष्ठ नागरिक पर्वतीया देवी अहिरिनलाई बाटोमै ‘बोक्सी’ भन्दै कुटपिट गरेको पीडित परिवारको भनाइ रहेको छ । यस घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपनि अभद्र व्यवहारमा उजुरी दर्ता गरेको प्रहरीले बताएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा हाम्रो समाजमा अहिले पनि अन्धविश्वासको नाममा महिलामाथि कथित ‘बोक्सी’को आरोपमा दुर्व्यवहार हुने गरेको उल्लेख छ । ‘बोक्सी’को आरोप तथा दुर्व्यवहारसम्बन्धी यस्ता घटनाहरूको प्रभावकारी अनुसन्धान गरी कानुनी कारबाही प्रकृया अगाडि बढाउन आवश्यक देखिएको इन्सेक टोलीको ठहर छ ।
‘बोक्सी’को आरोप जस्ता अन्धविश्वासको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन र ग्रामीण तहसम्म अन्धविश्वासविरुद्ध जनचेतनामूलक कार्यक्रमहरू पनि गर्नु आवश्यक रहेको इन्सेक केन्द्रीय कार्यालयबाट अध्ययनका लागि पर्सा पुग्नुभएकी सम्झा श्रेष्ठले बताइन ।
टोलीमा मानव अधिकार बहस तथा पैरवी कार्यक्रम संयोजक सम्झना श्रेष्ठ, इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवान र बाराका मानव अधिकारकर्मी भोलानाथ पौडेलको सहभागिता रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर