सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ साउन ।
औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार बिहान ३ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर स्थित सडकखण्डबाट ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.३ ख ७०५३ नम्बरको मालवाहक कन्टेनर ट्रक रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी टोलीले नियन्त्रणमा लिएको ट्रक सहित औषधी तथा खुद्रा सामानहरू अ.मु.रू ८३ लाख ९२ हजार ७ सय ८२ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको टोलीले नियन्त्रणमा लिएको भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी भिष्वाबाट खटिएको टोलीले बिहिवार र शुक्रवार नियन्त्रणमा लिएको रु. ४ लाख ८७ हजार मुल्य बराबरको विभिन्न सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।