सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ साउन ।
राष्ट्रिय दलित नेटवर्क, नेपालको आयोजनामा मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरस्थापनाका लागि सरकारलाई सचेतीकरण गर्ने उद्देश्यले बहुपक्षीय सरोकारवालाहरु बिच अन्तरसंवाद कार्यक्रम गरेको छ ।
काठमाण्डौंमा आयोजित कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष एवं मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी बस्तुस्थिती अध्यययन समितिका सदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरस्थापनाका लागि नेपाल सरकारले अध्ययन समितिको प्रतिवेदनका सिफारिश अक्षरस कार्यान्वयन गरिनुपर्नेमा जोड दिनु भयो ।
उहाले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्नु राजनीतिक परिवर्तनको अनुभुति गराउनु र समाजमा सम्मानित जीवन जिउन पाउने वातावरणको सुनिश्चितता गर्नु नेपाल सरकारको संवैधानिक दायित्व भएकोले मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरसथापनाका लागि तिनै तहका सरकार संबेदनशिल हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संबिधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता हरी श्रीपाईलीले अध्ययन प्रतिवेदनमा आधारित भूमि ब्यवस्था मन्त्रालयले हालै तैयार गरेको मुक्त कमैया, कम्लहरी हलिया र हरवा चरवाको पुनरस्थापना सम्वन्धी कार्यविधिलाई मन्त्रीपरिषदले अविलम्व पारित गरेर कार्यान्वयन नगरेसम्म मुक्त हरवाचरवा, हलिया र कमैयाको न्यायिक पुनरस्थापना गर्न नसकिने बताउनु भयो ।
उहाले संघीय सरकारले स्थानीय तहलाई जिम्मेवारी प्रदान गर्दै मुक्त हरवा चरवाको लगत संकलन र परिचय पत्र बितरण यसै आर्थिक बर्षमा प्रारम्भ गरेर पुनरस्थापना कार्य अगाडी बढाउनुपर्नेमा जोड दिनु भयो ।
त्यसै गरी राष्ट्रिय भूमि आयोगका सदस्य गोवद्र्धन कोली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रकाश अधिकारी, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव चन्द्र सिवाकोटीले कमैया, कम्लहरी हलिया र हरवा चरवाको पुनरस्थापनाका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष राजेश पालिखे, जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेबी बिश्वकर्मा, समावेशी फाउण्डेसनका उपाध्यक्ष एवं अधिवक्ता चक्रमान बिश्वकर्मा, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनार, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सचिव मोहमद कासिम मियां, द फ्रिडम फण्डका कार्यक्रम ब्यवस्थापक जियम श्रेष्ठ, अन्तराष्ट्रिय भुमि अधिकार मञ्च नेपालका कार्यक्रम ब्यवस्थापक प्रेम नेपाली, अन्तराष्ट्रिय भूमि सञ्जालका धर्मराज जोशी, पूरक एशियाका कार्यक्रम ब्यवस्थापक नितु पोखरेल, एक्सनएड नेपालका सुजात श्रमनेरा लगायतले मनतब्य ब्यक्त गरेका थिए ।
राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष गणेश बहादुर बिश्वकर्माको सभापतित्वमा आयोजित कार्यक्रममा महासचिव मोहन ओडले सहभागीहरुलाई स्वागत गर्नुभयो भने कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक हुकुम बहादुर सार्कीले गर्नुभएको थियो ।
मुक्त हरवाचरवा, हलिया र कमैयाका सवालमा सरोकारवालाहरु बिच अन्तरसंवाद
Facebook Comments Box