सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ साउन ।
वीरगंज महानगरपालिकाले मुख्य नालामाथि बनेको क्लासिक होटलको भवन हटाउन डोजर लगाएको छ ।
होटलको संरचना मुख्य नालामाथी निर्माण हुंदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको बताइएको छ ।
नालामाथि बनेको संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेर नहटाएपछि महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरको टोलीले डोजर लगाएर हटाउन सुरु गरेको हो ।
महानगरले नालामाथि बनेको हरिखेतानको बांकी संचरना हटाएर क्लासिक होटलको संरचना हटाउन सुरु गरेको हो ।
नाला माथि बनेको हरिखेतानको संरचना गत असार २५ गते डोजर लगाएर हटाएको थियो । क्याम्पसको अझ पनि बांकी रहेको केही संरचना पनि डोजर लगाएर हटाइएको छ ।
क्लासिक होटल नालामाथि नै रहेकाले त्यसलाई हटाउन मंगलवारबाट डोजर चलाइएको महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनु भयो ।
क्लासिक होटलको सामुन्ने रहेको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पनि पहिले नै सूचना दिएको भए पनि अझै सम्म नहटएकाले त्यसलाई पनि डोजर लगाएर हटाइने उहाले बताउनु भयो ।
जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउदै सफाईलाई निरन्तरता दिंदै आएको छ ।
क्लासिक होटलको उत्तरतर्फ र कर्पोरेट बैंकको दक्षिणतर्फ रहेको मुख्य नाला पूर्ण रुपमा सफाई हुंदा पनि ती दुबै भवन नहट्दा मुख्य नाला सफाईमा अवरोध पुगेको छ ।
यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ ।
वीरगंजमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुंदै दक्षिणतिर बगेको छ ।
गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् ।
वर्षौं देखि मुख्य नाला सफाई नहुंदा वीरगंज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको ताम्राकारले बताउनु भयो ।
Facebook Comments Box