सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ साउन ।
वीरगंज महानगरपालिकाले नारायणी अस्पताल बीरगंजको सोमबार देखि सरसफाइ सुरु गरेको छ ।
वीरगंज महानगरपालिकाले अस्पताल प्रशासनसंग गरेको सम्झौता अनुसार सोमवार देखि नारायणी अस्पतालको सरसफाइ सुरु गरेको हो ।
यसै क्रममा सोमवार मेयर राजेशमान सिंहले सरसफाइको अनुगमन गर्दै नारायणी अस्पताल परिसर सफा स्वच्छ राख्न सबै सेवाग्राहीलाई अपिल गर्नु भएको छ । सफाइ र व्यवस्थित पार्किङ मा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताउनु भयो ।
मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले बीरगंज महानगरपालिकाले अस्पतालको सरसफाइमा औपचारिक रुपमै सघाएकोमा मेयर सिंहलाई धन्यवाद दिंदै अब सरसफाइमा लापरबाही गर्ने संग सम्झौता नगरिने बताउनु भयो ।
सम्झौता अनुसार साउन १ गतेदेखि एक वर्षका लागि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पूर्ण सरसफाइ वीरगंज महानगरपालिकाले गर्ने छ । बाहिर क्षेत्रअन्तर्गत शौचालय, बरन्डा, भ¥याङ, अस्पताल परिसर तथा प्रशासनिक भवन पर्ने सम्झौता पत्रमा उल्लेख छ । अस्पतालको शल्यक्रिया कक्ष र वार्ड भित्रको सरसफाइ तथा फोहर व्यवस्थापन अस्पताल आफैले गर्नुपर्ने हुन्छ ।
सरसफाइ गर्नका लागि महानगरपालिकाले अस्पतालसंग कुनै शुल्क लिने छैन भने सरसफाइका लागि वीरगंज महानगरपालिकाबाट खटिने सरसफाइकर्मी र नारायणी अस्पतालमा कार्यरत सम्पूर्ण सरसफाइकर्मीको अनुगमन, नियन्त्रण र हाजिरी प्रमाणित वीरगंज महानगरपालिकाले गर्ने छ ।
अस्पतालमा हुने सरसफाइका लागि महानगरपालिका कार्यालयले एक जना नाइकेको नेतृत्वमा ९ जना सरसफाइकर्मी परिचालन गर्ने महानगरको सरसफाइ व्यवस्थापन शाखाको प्रमुख सर्फुदिन मिया“ले जानकारी दिनु भयो ।
अस्पताल परिसरमा जथाभाबी फोहर गर्ने उपर वीरगंज महानगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही समेत गर्ने सम्झौतामा उल्लेख रहेको मिया“ले बताउनु भयो ।
Facebook Comments Box