सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ असार ।
पर्सा जिल्लाका सुरक्षा संयन्त्र तस्करी नियन्त्रण गरेको भनिए पनि प्राय दिनहु जसो अवैध मालसामान नियन्त्रणमा लिएको घट्नाले तस्करी नरोकिएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतवार विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएको सामानहरु नियन्त्रणमा लिएको भनी जारी गरेको प्रेस विज्ञप्तीले तस्करी नरोकिएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय र मातहतका वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आइतवार छुट्टा–छुट्टै स्थानबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लेडिज कुर्ता सुरवाल, साडी र कष्मेटिक सामानहरू नियन्त्रणमा लिएको जनाइएको छ ।
जिप्रका र वप्रका श्रीपुरको टोलीले नियन्त्रणमा लिएको रु. ३० हजार र ४ लाख मुल्य बराबरको भन्सार छली चोरी पैठारी गरी ल्याएका लेडिज कुर्ता सुरवाल, बच्चाको कुर्ता सुरवाल, साडी र कष्मेटिक सामानहरू आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाइएको छ ।
पछिल्लो समय सिमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरी कै संरक्षणमा पर्सा जिल्ला सदरमुकाम वीरगंजको मुख्य नाका सहित सहायक नाकाहरु इनर्वा गाउ, छपकैया, श्रीसिया सहित ग्रामिण भेगका नाकाहरु धोरे, भिषवा, जानकी टोला, टिहुकी, बुडगाई र ठोरीबाट तस्करहरुले आफ्ना अवैध कारोवार संचालन गर्दै आएका थिए ।
यस सम्बन्धमा संचार माध्यमबाट समाचार बाहिरिए पछि पछिल्लो ३–४ दिन देखि वीरगंजको मुख्य नाकामा कडाइ गरिएको देखिन्छ । तर अवैध रुपमा तस्करहरुले चोरी पैठारी गरी ल्याइएको लाखौं मुल्य बराबरको मालसामानहरु दिनहु जसो नै नियन्त्रणमा लिनुले तस्करी नियन्त्रण नभएको पुष्टि गर्ने आधार भएको जानकारहरु बताउछन ।