सहारा दैनिक

spot_img
Homeदेशहुण्डी कारोबारी सन्तोष जैनको टेम्पो चालकदेखि उद्योग सम्मको यात्रा

हुण्डी कारोबारी सन्तोष जैनको टेम्पो चालकदेखि उद्योग सम्मको यात्रा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३असार ।
भारत बिहार राज्य मजफ्फरपुरमा टेम्पो चलाएर गुजारा गर्दै गरेको अवस्थामा एक्कासी वीरगंज प्रवेश गरेका सन्तोष जैन कुनै वैधानिक कारोबार नै नगरी अहिले आफूलाई नेपालको उद्योगीको रुपमा उभ्याउन तल्लिन देखिएका छन् ।
२५/२६ वर्ष अघि मजफ्फरपुरबाट वीरगंज प्रवेश गरेका भारतीय नागरिक जैन २०७३ सालसम्म हुण्डी कारोबारी र सुन तस्करकै रुपमा परिचित थिए भने सोही क्रममा पर्सा प्रहरीबाट पक्राउ परेर राजश्व अनुसन्धान विभागमा चलेको मुद्दाबाट मोटो रकम खर्चेर उम्किन सफल जैन अहिले आफूलाई उद्योगीको रुपमा प्रस्तुत गर्दैछन् ।
नेपाल प्रवेश गरेदेखि नै अवैध कारोबारमा संलग्न भई अहिले अर्बपत्तिको रुपमा चर्चित बन्न पुगेका जैनका कान्छा छोरा अंकुर जैन (बिक्की) काठमाण्डौमा कार्यालय सञ्चालन गरेर बसेका छन् भने जेठो छोरा सौरभ जैन (राजा) वीरगंजमा बसेर आफ्ना अवैध (हुण्डी र सुन) कारोबारलाई निरन्तरता दिएको उद्योगी व्यवसायीवृत्तमा चर्चाको विषय बनेको छ ।
देखावटी रुपमा वीरगंजका व्यवसायी रामजी सिकारिया नेतृत्त्वको बारा जिल्ला प्रसौनी स्थित रहेको जगदम्बा ग्यास उद्योग र वीरगंज महानगरपालिका वडा नं. १४ स्थित रहेको मनोज गुप्ता नेतृत्वको बोलबम दाना उद्योगमा साझेदार भई त्यसकै आडमा आफ्ना काला धन्दा सञ्चालन गर्दै आएको चर्चाले व्यापकता पाएको छ ।
यति मात्र नभई देशभरीका दाना उद्योग धराशायी हुँदै गएको अवस्थामा जैनले थप दाना उद्योग स्थापना गरेको बुझिन आएको छ । उनले बारा जिल्लास्थित भलुहीमा झण्डै ३०/४० करोडको लागतमा मनोज गुप्ता र रामजी शिकारियासँगको साझेदारीमा सो उद्योग संचालन गर्न लागेको निजले आफ्ना नजिकका व्यक्तिहरूलाई बताउने गरेका छन् ।
सन्तोष जैन परिवारसहित २०७३ सालमा वीरगंजमा ठूलो परिणामको हुण्डीको रकमसहित पक्राउ परेर उम्केपछि लगत्तै केही समयको अन्तरालमा निजका जेठा छोरा सौरभ जैन भारतको बंगाल राज्यस्थित सिलिगुडीबाट पटना आउने क्रममा १० किलो सुनसहित पक्राउ परेका थिए । तत्पश्चात निजले व्यसायीहरूबीच आफूले सबै अवैध धन्दा छोडिसकेको बताउँदै हिंडेपनि यतिबेला विभिन्न उद्योगमा लगानी गर्ने करोडौं रुपैयाँ कहाँबाट ल्याए ? खोजीको विषय बनेको छ । यसमा सम्पत्ति शुद्धिकरण विभागले चासो लिनुपर्ने देशभक्त नागरिकहरूको धारणा रहिआएको छ ।
समाचार स्रोतले दिएको जानकारी अनुसार जैनले भारतका केहि भ्रष्ट नेता, कर्मचारी, अपराधी एवं काला बजारीहरूको अवैध कालो धनलाई संरक्षण गर्न हुण्डीको माध्यमबाट नेपालमा रकम भित्र्याई उद्योगहरूमा लगानी गरिरहेका छन् । त्यस्तै भारतीय भ्रष्ट नेता, कर्मचारी, अपराधी एवं काला बजारीहरूलाई चीनबाट अवैध रुपले झिकाइएको सुन समेत पुर्‍याउने गरेको चर्चा पनि उत्तिकै छ । यसैक्रममा जैनका कान्छो छोरा अंकुर जैनमार्फत वीरगंजका उद्योगपति जिडी फर्मास्युटिकल्सका संचालक घनश्याम दास चाचानका भतिजा मानिक चन्द चाचानका छोरा राम चाचानले सात करोड रुपैयाँ लिएर भागेको विषय पनि व्यवसायहरूबीच चर्चा मात्र चलेको छैन, प्रशासनिक रुपमा समेत यसको विषयमा मुद्दा एवं छलफलको क्रम जारी छ । मानिक चन्दका छोरालाई दिएको सात करोड रुपैयाँ जैनले कहाँबाट ल्याए ? यो पनि खोजीको विषय हुन आउँछ ।
अवैध बाटोबाट आर्जन गरेको कालो सम्पत्ति खर्चेर प्रहरी प्रशासनलाई प्रभावमा पार्न माहिर जैनले नेपालका भारतीय सीमासँग जोडिएका जिल्ला तथा सीमावर्ती क्षेत्रहरूबाट अवैध सुन एवं हुण्डी कारोबार गरिरहेको समाचार स्रोतले जनाएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुर केन्द्रबिन्दू बनाएर जैनले विभिन्न एजेण्टहरू परिचालन गरी सुन पठाए वापतका रकम भारतबाट हुण्डीको माध्यमबाट नेपाल झिकाउने कार्यमा यतिबेला जैन व्यस्त देखिन्छन् । हुन त निज जैनका जेठा छोरा सौरभ जैनले आफूहरू विशुद्ध उद्योग व्यवसायमा क्रियाशील रहेको दाबी गर्छन् । तर उद्योग व्यवसाय गर्न रकम चाहिने हो त्यो पनि बैध तरिकाले आर्जन गरेको हुनु पर्ने हो । तर यिनले लगानी गरेको रकमको स्रोत के हो ? २५/३० वर्ष अघि भारत विहारको मजफ्फरपुरमा टेम्पो चलाउने सन्तोष जैनको सम्पत्तिको स्रोत के हो ? सम्पत्ति शुद्धिकरण विभाग सक्रिय हुनु पर्ने होइन र ?

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -