सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० असार ।
वीरगंज महानगरपालिका वडा नं. १७ मा स्थित रहेको द्वारदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि हातपातको प्रयास भएको छ ।
सो विद्यालयमा अध्ययनरत सैयौं विद्यार्थी मध्ये अधिकांश विद्यार्थीहरू सधैं विद्यालय पोशाकमा आउने गरेको भएपनि १०÷१५ जना छात्राहरू हिजाब लगाएर आउन थालेपछि प्रधानाध्यापक दयाकान्त झाले सबै विद्यार्थीलाई समान पोशाक लगाएर आउन भने पछि उनी माथी अभद्र व्यवहार सहित हातपातको प्रयास भएको हो ।
प्रअ झाले विद्यालयका सबै विद्यार्थी समान भएकोले निर्धारित पोषाक लगाएर नै आउन अनुरोध गरेका थिए । तर ती छात्राहरूले आफूलाई अभिभावकले हिजाब नै लगाएर विद्यालय पठाएकोले हामी आफ्ना अभिभावकलाई बोलाउछौं उहालाई नै भनिदिनु होला भन्दै अभिभावकलाई बोलाएका थिए ।
ती विद्यार्थीका अभिभावक सहित केही उच्छृंखल व्यक्तिहरू बुधवार विद्यालय हातामा प्रवेश गरी हामी नियम कानुन मान्दैनौ, हाम्रो सन्तानलाई कस्तो पोशाक लगाउनु पर्छ भनेर भन्ने तपाईं को हो ? भन्दै विद्यालयका प्रधानाध्यापक झामाथि हातपात गर्ने प्रयास गर्दै धक्का दिदै गाली गलौज गरेको बताईको छ ।
सो घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बलको टोली र वीरगंज महानगरपालिका १७ नं. वडाका अध्यक्ष संजु छतकुली पुगेर तनावग्रस्त अवस्थालाई सामसुम पारेका थिए ।
सबैमा समानताको पवित्र उद्देश्यले पोशाक लगाएर विद्यालय आउन आग्रह गर्दा आफ्ना विद्यालयका प्रधानअध्यापकमाथि नै आक्रमण हुने अवस्था देखेपछि शिक्षकहरू असुरक्षित भएको भन्दै दोषीहरू उपर कारवाहीको माग गरेका छन् ।
शान्ति क्षेत्र भनिएको विद्यालयमा जात र धर्मको आडमा हुल हुज्जत भएपछि तत्काललाई घटनालाई सामसुम पार्दै विद्यालय सुधार समिति गठन गरिएको बताईएको छ । विहीवार विहान ७ बजे सो समितिको बैठक बसेर घटना सम्बन्धमा कसरी अगाडी बढ्ने भनि निर्णय गर्ने सहमती भएको बताइएको छ ।
यता विद्यालयका प्रधानाध्यापक झासंग बुझ्दा उहाले आफूले सबै विद्यार्थीलाई एक समान व्यवहार गर्नुका साथै समानताको सन्देश दिन पोशाक लगाएर आउन भनेपछि आफूमाथि दुर्व्यवहार भएको दुखेसो पोख्नु भयो । तथापि आफूमाथि दुर्व्यवहार भएपनि सो घटनाबाट विद्यार्थीको पठनपाठनमा अवरोध नहोस् भनि पहल गर्दै कानुन हातमा लिन खोज्नेहरूलाई सम्बन्धित निकायले कारवाही गर्ने विश्वास लिएको प्रधानाध्यापक झाले बताउनु भयो ।
त्यसै गरी वडा अध्यक्ष छतकुलीले विवाद भएको हो तर हामीले बसेर सामाधान गरिसकेको बताउनु भयो ।