सहारा दैनिक

spot_img
Homeसमाचारसंघीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प छैन–प्रधानमन्त्री

संघीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प छैन–प्रधानमन्त्री

कास्की, १५ असार (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
पोखरामा आज आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठक, २०८० को समापन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रदेशको आवश्यकता छैन भन्ने तर्क पनि छन् । तर ती वैज्ञानिक छैनन्, हामीले जनताको घरदैलोमा सत्ता र सेवा पुगोस् भन्नका निम्ति पनि संघीयताको व्यवस्था गरेका हौँ । समस्या र चुनौती जे छन्, तिनीहरूको सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन ।”
संविधानमा तीन तहको सरकारको अधिकारको बाँडफाँटको व्यवस्था गरिएको प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभयो । संघीयताबारे राजनीतिक तहमा सोचाइमा एकरूपता आउन नसक्दा आवश्यक ऐन, कानून बनाउने कुरामा ढिलाइ भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक संघीयता कार्यान्वयनका लागि प्रशस्त प्रयास गरिएको छ । संघीयताबारे हामी सैद्धान्तिक, नीतिगत, कानूनी र व्यावहारिक विषयसमेतमा स्पष्ट छौँ । त्यसका लागि आवश्यक पर्ने ऐन, कानून निर्माण हाम्रो प्राथमिकतामा छ ।”सरकारले संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन र संघीय प्रहरी ऐन छिटो निर्माण गर्न पहल गरिरहेको प्रधानमन्त्रीले बताउनुभयो ।
“संघीय निजामती ऐन छिटै संसद्मा टेबुल गर्छौं । सदनको यसै अधिवेशनमा यी ऐन टु·ाउने हाम्रो कोसिस रहन्छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले अन्तरप्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीररूपमा छलफल हुने प्रतिबद्धता जनाउनुभयो ।
“मुख्यमन्त्रीहरूको साझापत्रबारे संघमा गम्भीररूपमा छलफल गर्छु । तपाईंहरूको साझापत्रले मलाई बल पुगेको छ । म केन्द्रमा, राजनीतिक र प्रशासनिक तहमा यसबारे गम्भीररूपमा छलफल गर्छु”, उहाँले भन्नुभयो ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएका विषयको साझापत्र तयार पारिएको थियो । सो पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।
मुख्यमन्त्रीको बैठकले तयार पारेको साझापत्रमा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारले नीतिगत, कानूनी र व्यावहारिक विषयलाई सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -