सहारा संवाददाता–––––––––––––––
सप्तरी, १५ असार ।
राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माले सप्तरीका १८ पालिकामा प्रमुख र उपप्रमुखसंग दलितहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रवार सप्तरी जिल्ला कञ्चनरुप नगरपालिका वडा नं. ८ कञ्चनपुर स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीद्वारा आयोजित मधेश प्रदेशमा जातिय भेदभाव तथा छुवाछुतको अवस्था र राष्ट्रिय दलित आयोगको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष विश्वकर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आयोग अध्यक्ष विश्वकर्माले तुलनात्मक रुपमा मधेश र कर्णालीका दलित सबभन्दा बढी पीडामा रहेको बताउदै मधेस र कर्णालीमा बढी काम गर्नुपर्ने बताए । उनले भने– मधेशको दलितको अवस्था भोक लागेको छ, चामल छ तर पकाएर खाने दाउरा छैन, दाउरा छ त चामल छैन र दशै,तिहार,छठ र होली लगायतको पर्वहरु आउछ अरु सबैले नया“ कपडा किन्छन तर दलित समुदायका छोरा छोरीलाई कपडा किनिदिने अवस्थामा छैन ।
विभेदको कुराको विषयमा त मैले भन्नै पर्दैन मैले भन्दा मधेश प्रदेशका दलितहरुले धेरै भोग्नु परेको छ । मैले पनी अलिअलि भोग्ने गरेको छु,त्यसकारण मैले विभेदको कुराहरु भन्न नचाहेको र मधेशका दलितको समस्याको विषयमा हामी एकदमै गम्भीर छौं । अध्यक्ष विश्वकर्माले भने,मधेश प्रदेशमा दलितहरुको जनसंख्या १८ प्रतिशत छ सप्तरी जिल्लामा त २४ प्रतिशत दलितहरु रहेको छ । आठ जिल्लामा १८ प्रतिशत जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर यहाको सरकारलाई जती झीलीमिली गरे पनी कुनैपनी काम हुदैन ।
दलितको खरले छाएको घर छ त्यो घरमा आगो लाग्न पनी सक्छ बाढीले उडाएर पनी लग्न सकिन्छ अब त्यसको घर बनाउनु पर्ने त्यसको लागि के के गर्नु पर्छ राष्ट्रिय दलित अयोगसंग योजना छ त्यो योजना अनुसार हामीले तिनै तहका सरकारलाई पनी भनी राखेका छौं । अध्यक्ष विश्वकर्माले विगतमा आयोगका अध्यक्षहरुले के गरे थाह छैन तर म मधेश प्रदेशको पालिका सम्म आएर काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलकुमार पासवानले अझै पनि दलित समुदायले दैनिकरुपमा विभेदको सामना गर्नुपरीरहेको बताए । उनले भने– गैर दलित यूवासंग दलितका छोरी प्रेम विवाह गर्दा घर छिर्न दिंदैनन् र अन्तिममा आत्महत्या गर्छन । दलितको छोरा गैर दलितको छोरीसंग विहे गर्दा बलात्कार र अपहरणको मुद्धामा जेल पठाउ छन् ।
जातीय विभेद अनपढले मात्रै गर्ने गरेको कुरा सही नभएको बताउदै कार्यकारी निर्देशक पासवानले भने,छुवाछुत मुक्त देश भएको १७ औं बर्ष बितिसक्यो तर सिरहाको भगवानपुर गाउपालिका अध्यक्ष उग्रनारायण यादब जस्ताले खुलेआम विभेद गर्दा पनि राज्यले कुनै कारवाही नगरी पीडकलाई पक्ष पोषण गरेको आरोप लगाए ।
कार्यक्रममा कञ्चनरुप नगरपालिका कार्यपालिका सदस्य शोभा पासवान र रञ्जु सरदारले दलितका लागि बजेट बिनयोजन गर्ने कुरा उठाउदा नगरप्रमुखले विषयान्तर गर्ने गरेको बताए । नेपाल उत्पीडित जातिय मुक्ति समाजका प्रदेश अध्यक्ष पञ्चदेव मण्डलले राजनीतिक दल दलितको समस्या समाधान गर्न नचाहेको बताए । उनले भने– दलितमाथि दमन हुंदा दलका नेताहरु पीडितभन्दा पीडकको पक्षबाट वकालत गर्छन । दलित अगुवा लक्ष्मण पासवानले पहिलो पटक दलित आयोगका पदाधिकारी गाउमा आएर दलितसंग छलफल गरेकोमा खुशी लागेको बताए ।
मञ्चका निर्देशक भोलकुमार पासवानको अध्यक्षतामा आयोजित कार्यक्रम दलित संयुक्त सर्घष समिति कञ्चनरुप नपाको संयोजक रामदेव खत्वे शर्माले संचालन गरेका थिए भने स्वागत संयोजक सुनिल सरवरियाले गरेका थिए ।
Facebook Comments Box