सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ असार ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
शनिवार काठमाण्डौं स्थित पार्टी कार्यालयमा बसेको बैठकले विधानको मस्यौदालाई अनुमोदन गर्ने लगायतको निर्णय गरेको हो ।
केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको विधानको मस्यौदा आइतवार देखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ ।
बैठकले सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठीत पार्टी सम्बद्ध समाजवादी मोर्चालाई समेत पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ ।
केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यस अघिका निर्णयहरुलाई पनि बैठकले अनुमोदन गरेको बताइएको छ ।
बैठकले पछिल्लो निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय पनि गरेको छ ।
छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रीय नेताहरुलाई नसिहत दिने निर्णय भएको छ । कारबाहीको निर्णय उपर चित्त नुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने व्यवस्था रहेको सो पार्टीले जनाएको छ ।