राधेश्याम साह–––––––––––––––
गौर, ०८ असार ।
नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी गरिएको छ ।
सदस्यता नविकरणमा मापदण्ड पालना नगरेको भन्दै रौतहटका सक्रिय पत्रकारहरुद्वारा महासंघमा तालाबन्दी गरिएको हो ।
नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण र नयाँ सदस्यता नभएको भन्दै यहाका सक्रिय पत्रकारहरुले तालाबन्दी गरेका हुन ।
सक्रिय पत्रकारहरुले निर्णय सच्याउन पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले तालाबन्दी गर्नु परेको नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रवीन्द्र प्रसाद साहले जानकारी दिनु भयो ।
पुरानो सदस्यता शुद्धीकरणमा मात्र होइन नयाँ सदस्य सिफारिसमा समेत सक्रिय आबद्ध पत्रकार माथि विभेद गरिएकोले बाध्य भएर ताला लगाइएको उहाले बताउनु भयो ।
यस अघि महासंघमा आवद्ध सदस्य एवं क्रियाशील पत्रकारहरुले महसंघले गरेका निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने महासंघ रौतहटका अध्यक्ष झालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
जसमा शुद्धीकरण सम्बन्धी मापदण्ड, अक्षरश पालना गरेर अघि बढ्न आग्रह गरिएको थियो ।
ध्यानाकर्षण गराउदा पनि महासंघका नेतृत्वले आफू निकट दल विशेष पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने काम गरेको भन्दै पत्रकारहरुले विरोध जनाएका छन ।
निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासंघका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने, निर्णय नसच्चिएसम्म पत्रकार महासंघका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने आन्दोलनरत पत्रकारहरुले चेतावनी दिएका छन ।