सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ असार ।
अत्याधुनिक हतियार एवं बन्दोवस्तीका सामान सहित सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको मूख्य भन्सारलगायतका नाकाहरूबाट निर्लज्जतापूर्वक तस्करहरूले तस्करी कार्य संचालन गरिरहेको देख्दा स्थानीयहरू तीन छक्क परेका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिए पनि पर्सालगायतको सीमावर्ती क्षेत्रबाट भैरहेको तस्करी धन्दाले महानिरीक्षक अर्यालको नारालाई गिज्याइरहेको भान भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सीमा सुरक्षा एवं तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्न भनि मातहतका अधिकारीहरूलाई दिनु भएको निर्देशनलाई पर्साका सशस्त्र प्रहरी बलले रद्दीको टोकरीमा फालेर तस्करहरू सामु आत्मसमर्पण नै गरेका विभिन्न घटनाक्रमले उजागर हुन थालेका छन् ।
बोर्डर आउट पोष्ट वीरगंज भन्सार क्षेत्र सीमाभित्र रहेका वीरगंज भन्सारको मूख्य गेट, पछाडी बाँसघारी, इनर्वा गाउँ लगायतका नाकाहरू तस्करले नै कब्जामा लिएर कपडा, हार्डवेयर, इलेक्ट्रिक समान, खाद्यान्न, काजु, मोटर पार्टस्लगायतका सामानहरू मात्र नभई तस्करहरूले चाँदीका गर गहना, हुण्डीको रकम समेत अवैध रुपमा नेपाल भित्र्याइरहेको जोकोहीले पनि देख्न सक्छन् ।
यी सीमा क्षेत्रबाट मूख्यरुपमा भारतीय कुख्यात तस्कर मुख्तार मियाँले सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी, प्रदेश प्रहरी कार्यालय लगायत जिल्लास्थित जिम्मेवार निकायलाई प्रभावमा पारेर खुल्लेयाम तस्करी गरिरहेको स्रोतले जनाएको छ ।
मुख्तारले एक जना भूपू प्रहरी एवं करिब आधा दर्जन साना तस्करहरूलाई साथमा लिएर दर्जनौंको संख्यामा पैदल भरिया, साइकल, मोटरसाइकललगायत अटो रिक्सामा सीमावर्ती भारतीय क्षेत्रबाट भन्सार राजस्व छलि गरी सामान भित्र्याउने गरेका छन् ।
मुख्तारलगायत अन्य तस्करहरूले हाकाहाकी तस्करी गर्दा वीरगंज भन्सारको राजस्व असुली कम हुँदै गएपछि देशको अर्थतन्त्र समेत संकटमा परेको अवस्थाबारे सशस्त्र प्रहरीका नायब महानिरीक्षक दिपेन्द्र शाहलाई सूचना हुँदा पनि तस्करी नियन्त्रण हुनुको सट्टा झन बढ्दै जानुले तस्कर समूहको प्रभाव कहाँसम्म रहेछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
गत आइतवार दिउँसै मोटरसाइकलमा लोड गरी गमबेस भित्र्याइएको खबर सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह कहाँ पुगेपछि वीरगंज भन्सारस्थित सशस्त्र प्रहरीले त्यो सामानलाई नियन्त्रणमा लिएपनि परिवर्तन गरी नाटकीय ढंगले त्यो सामानलाई चुना भनेर भंसार कार्यालयमा बुझाएका छन् ।
संचारकर्मीको जिज्ञासामा बिओपी वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डेले डिआइजी साबको आदेश आएपछि तत्कालै नियन्त्रणमा लिन खोज्दा उक्त मोटरसाइकल फिर्ता गएर पुन: आएपछि नियन्त्रणमा लिंदा चुना फेला परेको बताए । तथापि तस्वीर र भिडियोको प्रकृति हेर्दा कुनै पनि कोणबाट चुनाजस्तो नदेखिने प्रष्ट छ । सोही प्रकृतिका सामानहरू विहीबार पनि दुई वटा मोटरसाइकलमा वीरगंज भन्सारको मूख्य गेटबाटै भित्रिएको दृश्य देखिएको छ ।
Facebook Comments Box