सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असार ।
वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ३ अर्ब २१ करोड ३५ लाख ४४ हजारको अनुमानित बजेट ल्याएको छ ।
वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले बुधबार नगरसभाको तेह्रौं अधिवेशनमा आर्थिक वर्ष २०८०÷०८१ का लागि अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा कुल बजेटमध्ये चालु तर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूंजीगत तर्फ रु. ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्था तर्फ रु. ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याएको छ ।
बुधबार प्रस्तुत भएको बजेटमा व्यय तर्फ आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ रु.१२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा रु. १२ करोड विनियोजन गरेको छ ।
त्यसै गरी आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागी रु. ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि रु. ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी रु. ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका तर्फ रु. १ करोड छुट्याइएको छ ।
बजेटमा लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि रु. ३५ लाख विनियोजन गरिएको छ ।
यसरी नै आय तर्फ वीरगंज महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट रु. ४२ करोड ८८ लाख, राजश्व बांडफांड रु. २१ करोड १२ लाख, सशर्त अनुदान रु. ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरेको छ ।
वीरगंज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट रु. १ अर्ब ३३ करोड २१ लाख, राजश्व बांडफांडबाट रु. २५ करोड २४ लाख ७० हजार प्राप्त हुने पनि अनुमान गरेको छ ।
त्यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट रु. ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बांडफांडबाट रु. २ करोड ८७ लाख र आन्तरिक राजश्वबाट रु. १ अर्ब २० करोड ४४ लाख ३० हजारको अनुमान गरिएको छ ।
नगरसभाको १२ औं अधिवेशनले चालु आ.व.का लागि रु. ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो । आगामी आ.ब.का लागि भने बजेट घटेर आएको हो ।
Facebook Comments Box