सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असार ।
“दुधको साक्षी विरालो” (दूधको सुरक्षाको जिम्मा विरालोलाई) भन्ने भनाइको चरितार्थ पर्सा जिल्लाका सिमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बलले गरेका छन ।
“दुधको साक्षी विरालो” भन्ने भनाइको अर्थ दुधको सुरक्षा गर्न विरालोलाई राख्दा सुरक्षित हुने नहुने सहजै बुझ्न सकिने झै अहिले सिमा क्षेत्रको अवस्था भएको छ ।
पर्सा जिल्ला सदरमुकाम वीरगंज देखि ग्रामिण भेग सम्मका सिमा नाकामा परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इकाइ प्रमुखहरुकै सहमती एवं सहकार्यमा विभिन्न किसिमका मालसामानहरु अवैध तरिकाले ओसार पोसार भइ रहेको प्रत्यक्ष रुपमै देखिने गरेको छ ।
मुलुकको अर्थ तन्त्र संकटमा पर्दै गएको, व्यापार व्यवसाय ठप्प हुंदै गएको र भन्सार राजश्वको लक्ष्य पुरा हुन नसकेको अवस्थामा सरकारले विभिन्न नितिनिर्देशन जारी गरेर सिमा क्षेत्रमा कडाइ सहित राजश्व असुलीमा सकृय हुन सम्बध निकायलाई निर्देशन दिइएको अवस्था भए पनि पर्सा जिल्लाका सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलले देखाएको मुद्रा मोह आश्चर्यमा पारेका छन ।
सशस्त्र प्रहरी बलकै सहयोग र संरक्षणमा वीरगंज भन्सारको मूख्य नाका, इनरर्वा गाउ, बांसघारी, छपकैयां, सिर्सिया, ड्राइपोर्ट, अलौं, अमरपट्टी, प्रसौनी भाठा, भिस्वा लगायतको नाकाबाट खुल्लेयाम तस्करी भइरहेको देखिने गरेको छ ।
खासगरी वीरगंज भन्सार मुख्य नाका, इनर्वा गाउ, छपकैयां र सिर्सिया क्षेत्रबाट ठूलो परिणाममा तस्करी लाइन संचालन गर्ने मौका भारतीय नागरिक कुख्यात तस्कर मुख्तारले पाएका छन् । समग्रमा भन्ने हो भने सिमा क्षेत्र नै तस्करलाई सुम्पिएको प्रत्यक्ष रुपमा हेर्दा भान हुन्छ ।
मूख्तारले यी क्षेत्र र नाकाबाटबाट मात्र नभई बारा जिल्ला मुसहर्वाबाट समेत लाइन लिएर दैनिक लाखौंको राजश्व छल्ने गरी तस्करीको माध्यमबाट गांठका गांठ सुटिङ सर्टिङका कपडा सहित विभिन्न सामान भारतबाट नेपाल ल्याइरहेका छन् भने नेपालबाट गा“जा र रक्सी भारत तर्फ तस्करी गरी लगिरहेको स्रोतले जनाएको छ ।
मुख्तारले एक जना भुपु प्रहरी एवं करिब आधा दर्जन साना तस्करहरूलाई साथमा लिएर दैनिक करोडौं मूल्य बराबरका राजश्व छलिका सामान नेपाल भित्रियाइ रहेका छन् ।
तस्कर मुख्तारले साइकल, अटो, मोटरसाइकल एवं पैदल महिला एवं पुरुष भरियाहरू प्रयोग गरेर राजश्व छलिका सामान नेपाल भित्रियाउने गरेको उनी निकट श्रोत कै दावी छ ।
सीमावर्ती मितेरी पुल, खलवा टोला पारीका क्षेत्र, बांसघारी पारीका भारतीय क्षेत्रमा जुनसुकै बेला मुख्तारका भरियाहरू कपडा लगायतका सामान लिएर तयारी अवस्थामा बसेका देखिन्छन् यता नेपाली क्षेत्रबाट सशस्त्र प्रहरी बलको इशारा पाएपछि तुरुन्तै ती सामानहरू सीमाना कटाएर नेपाल भित्रियाइ रजत जयन्ती चौक लगायतका विभिन्न स्थानमा राखिएका गोदामहरूमा भण्डारण गरिने गरेको बताइन्छ ।
दैनिक रुपमा सिमावर्ती भारतीय सहर रक्सौलबाट अवैध रुपमा भित्रियाइएको कपडा लगायतका वीरगंजका विभिन्न स्थानमा भण्डारन गरी नक्कली कागजातको आधारमा विभिन्न ट्रान्सपोर्टको माध्यमबाट नारायणघाट, पोखरा एवं काठमाण्डौसम्म पठाउने गरेका छन् ।
मुख्तार निकट स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दीबास समेत नेपाल प्रहरीका अधिकारीहरूलाई समेत मिलाउने गरी सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट वीरगंज भन्सारका पदाधिकारी र नेपाल प्रहरी र इनर्वा प्रहरी चौकी र प्रहरी चौकी इनर्वा गाउका प्रमुखले मुख्तारको तस्करी निरन्तरताका लागी सहजता प्रदान गरेका छन ।
समाचार श्रोतका अनुसार वर्तमान समय वीरगंज महानगर अन्तरगतको सिमानाका छपकैया, सिर्सिया, ड्राइपोर्ट, प्रसौनी भाठा, भिस्वा, जानकी टोला र ठोरीका साथै बारा जिल्लाका बलरामपुर, मुसहर्वाबाट कपडा, हार्डवेयर, इलेक्ट्रिक सामान, काजु सहित किरानाका अन्य सामान पनि दैनिक रुपमै ठुलो मात्रामा तस्करीको माध्यमबाट नेपाल भित्रियाउने काम भइरहेको छ ।
सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि जिम्मेवारीसाथ खटाइएका सशस्त्र प्रहरी बल नै सीमा क्षेत्र तस्करलाई जिम्मा लगाएर आफू मुद्रा मोचन गरी रजाइ गरी बस्छन भने त्यो देशको आर्थिक अवस्थामा सुधार आउला त ? सरकारको लक्ष्य प्राप्त होला भन्ने प्रश्न गम्भीर छ ।