सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० जेठ ।
वीरगंज भन्सारस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे हेड क्वार्टर तानिएको समाचार बुझिन आएको छ ।
वीरगंज–रक्सौल विचको मुख्य नाका वीरगंज भन्सार कै बाटो प्रयोग गरी तस्करी लाइन संचालनमा आएको समाचारहरू सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे तानिएको समाचार बुझिन आएको हो ।
प्रहरी महानिरीक्षक राजु अर्यालले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अन्तर्गत अभियान चलाइरहेको समयमा उहाको अभियान विपरित सशस्त्र प्रहरी बलकै संरक्षणमा तस्करीको लाइन संचालन भएर भन्सार राजश्व संकलन खस्किदै गएको भन्ने समाचारहरु प्रकाशमा आएपछि वीरगंज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेलाई सशस्त्र प्रहरी बलको हेडक्वार्टर झिकाएर स्पष्टिकरण लिइएको समाचार स्रोतले जनाएको छ ।
यद्यपी सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले आफू विदामा काठमाण्डौ आएको निकटवर्तीहरूलाई बताउने गरेका छन् ।
यता सशस्त्र प्रहरी बललाई मोटो रकम खुवाएर तस्करीको लाइन संचालन गर्ने अनुमति पाएका भारतीय नागरिक कुख्यात तस्कर मुख्तार मिया“को लाइन एक हप्ता बन्द भएर सोमबारबाट पुनः संचालनमा आएको श्रोतले जनाएको छ ।
पर्सा जिल्ला सदरमुकाम वीरगंजको इनर्वा गाउ, भन्सार पछाडीको बांसघारी लगायतको क्षेत्र तथा मूख्य भन्सार क्षेत्रबाटै साइकल, अटो, मोटरसाइकल र पैदल भरियाहरू लगाएर मुख्तारले करोडौंको राजश्व छलि गरी कपडालगायतका सामान वीरगंज भित्रियाएर नक्कली बिलको आधारमा विभिन्न ट्रान्सपोर्टहरूको माध्यमबाट नारायणघाट, पोखरा, काठमाण्डौ लगायतका ठाउमा पठाउने गरेका छन् ।
एकजना भूपू प्रहरी र अन्य साना तस्करहरूसंग मिलेर मुख्तारले लाइन लिएपछि यतिखेर सीमा क्षेत्र मुख्तारको नाममै भएको जस्तो देखिएको छ । सप्रनाउ पाण्डे तातिए पनि केही दिन कै अन्तरालमा पुनः तस्करीको लाइन यथावत संचालन भइरहने कुराले तस्कर मुख्तारले सो लाईनकोलागि राम्रै रकम लगानी गरेको बताइन्छ ।
यता तस्करी लाइन संचालन छैन भनेर देखाउनका लागि नाटकीय ढंगमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्सा वीरगंजबाट डिएसपीको कमाण्डमा दिनहुं मितेरी पुल देखि भन्सार गेटसम्म चेकजांचका लागि सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि सर्वसाधारणहरूले घरेलु प्रयोजनकोलागि सीमावर्ती भारतीय बजार रक्सौलबाट सामान किनेर ल्याउदा कुख्यात अपराधी नै प्रवेश गरेजस्तो अनेक केरकार र चेकजांच गर्छन् तर भरिया तस्करहरूले मुख्तारको माल हो भन्ने बित्तिकै सशस्त्र प्रहरीले जान दिने गरेको जोकोहीले पनि देख्न सक्छन् । अतः दरबन्दिवाला प्रमुख तानिए पनि काम चलाउ परिचालित प्रमुख (सप्रनाउ)ले तस्करी लाइन संचालन गरेका छन ।
मुख्तारले मूख्यतया भारतबाट नेपालतर्फ कपडाको तस्करी गरिरहेका छन् भने नेपालबाट बिहारमा प्रतिबन्धित मदिरा तस्करी गरी लैजाने गरेका छन् ।
यसरी एका तिर राज्यले अर्थतन्त्र सुदृढ पार्न विभिन्न नितिनिर्देशन जारी गरिरहेको अवस्था छ भने अर्को तर्फ सिमा क्षेत्रमा खटिएका सम्वन्धित निकायका पदाधिकारीहरु नै सिमा क्षेत्र तस्करलाई सुम्पिएर रजाइ गरिरहेका छन ।
Facebook Comments Box