सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० जेठ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकाहरुको भविष्यका लागि शिक्षा र समाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताउनु भएको छ ।
वीरगंज महानगरपालिकाको सहयोगमा सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासंग मेयर’ कार्यक्रममा मेयर सिंहले वीरगंजको विकासका लागि शैक्षिक उपलब्धि भन्दा पनि दीर्घकालिन सोंचका साथ काम गर्न खोजेको बताउनु भयो ।
उहाले विगतका दिनमा सहीलाई सही र गलतलाई गलत भन्न नसकेकै कारण वीरगंज विकासमा पछि परेको बताउदै अहिलेका पुस्ताले सही कुरा गर्न कसैसंग डराउनु पर्ने आवश्यकता नरहेको बताउनु भयो ।
समाजमा भएको गलत क्रियाकलापहरुको खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा उहाले जोड दिनु भयो ।
शिक्षा र सामाजिक क्षेत्रको विकास नै स्थानीय तहको विकासको मानक हुने भएकोले यसको लागि शिक्षा क्षेत्रमा ऐनले व्यावस्था गरे अनुसार हरेक सामुदायिक र संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलापमा पनि जोड दिने बताउनु भयो ।
बालश्रम, बालमैत्री शासनको विषयमा महानगरपालिकाले लिएको नीतिको बारेमा सहभागी बालबालिकाहरुले गरेको प्रश्नको जवाफ दिदै उहाले बोलीमा भन्दा पनि व्यवहारमा देखिने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विगतमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको, बालमैत्री वडा घोषणा गरिएको भए पनि अहिले फेरी उस्तै अवस्था देखिएकोले त्यसलाई दीर्घकालिन रुपमा समाधान गर्न र सडक बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र भविष्यको विषयमा पनि महानगरपालिकाले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्ने बताउनु भयो ।
नारायणी एफ.एम.का कार्यक्रम संयोजक शिवनाथ यादवले सहजीकरण गरेको कार्यक्रममा वीरगंजका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Facebook Comments Box