सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ जेठ ।
प्रदेशसभा सदस्य श्याम पटेलले तालिममा प्राप्त गरेको ज्ञान पालिका बैठकहरूमा प्रयोग गरी उपलब्धि हासिल गर्न दलित कार्यपालिका सदस्यहरूलाई आग्रह गर्नु भएको छ ।
दलित सरोकार मञ्च नेपालले वीरगंज स्थित राणीसती अतिथि सदन वीरगंजमा आयोजना गरेको दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि नेतृत्व विकास तालिमको समापन कार्यक्रममा प्रदेशसभा सदस्य पटेलले यस्तो आग्रह गर्नु भएको हो ।
तीन दिने तालिमको बुधवार समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेशसभा सदस्य पटेलले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको बताउनु भयो ।
पर्सा र बारा जिल्लाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि आयोजित तालिममा मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।
सो अवसरमा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित कार्यपालिका सदस्यहरूका कुरा सुनुवाइ नहुने भएकाले सबै एक जुट भएर अघि बढ्न सुझाव दिनु भयो ।
उहाले यस्ता तालिमले दलित कार्यपालिका सदस्यहरूलाई आफ्ना हक÷अधिकारबारे जानकारी गराउने भएकाले मञ्चले आवश्यकता अनुसार सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारी मध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका छन । आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो पनि गरेका छन ।
बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैं सञ्चालन गर्ने गरेका समेत उनीहरुको गुनासो छ ।
उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको, पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको दुखेसो व्यक्त गरेको मञ्चका निर्देशक पाशवानले बताउनु भयो ।
दलित सरोकार मञ्च, नेपालद्वारा आयोजित यो तालिममा सञ्जालका २८ जना पदाधिकारी सहभागी थिए भने दलित अगुवा १५ जनाको सहभागिता रहेको थियो ।
यी सबै तालिमको सहजीकरण प्रशिक्षकद्वय सोनालाल चौधरी र रघुनाथ लामिछानेले गरेका थिए भने कार्यक्रममा पत्रकार वृजलाल पासवानले आफ्नो अधिकार आफैं लिने प्रतिबद्धता सहित यो तालिममा संलग्न भएकाहरूलाई धन्यवाद दिनु भयो ।
Facebook Comments Box