spot_img
Homeदेशमधेशकार्यपालिका सदस्यहरूका लागी तीन दिने नेतृत्व विकास तालिम सुरु

कार्यपालिका सदस्यहरूका लागी तीन दिने नेतृत्व विकास तालिम सुरु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ जेठ ।
दलित अधिकार सुनिश्चितताका लागी कार्यपालिका सदस्यहरूका लागी तीन दिने नेतृत्व विकास तालिम सुरु भएको छ ।
पर्सा र बारा जिल्लाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागी वीरगंज स्थित राणीसती अतिथि धर्मशालामा सोमवार देखि नेतृत्व विकास तालिम सुरु भएको हो ।
मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागी कार्यपालिका सदस्यहरूका लागी नेतृत्व विकास तालिम आयोजना गरिएको दलित सरोकार मञ्च नेपालले जनाएको छ ।
तालिममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारी मध्ये धेरैले आफूहरूलाई अहिले सम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका छन ।
आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिन समेत आनाकानी गरेका उनीहरुले गुनासो व्यक्त गरेका छन ।
बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडा अध्यक्षहरूले आफैं सञ्चालन गर्ने गरेको तालिममा सहभागी दलित समुदायका पालिका सदस्यहरुले बताएका छन ।
उनीहरूले कार्यपालिका सदस्यहरूले पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको,पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्न समेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको बताएका छन ।
दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगंजमा आयोजना गरिएको हो ।
दलित सरोकार मञ्च, नेपालद्वारा आयोजित तालिममा सञ्जालका २८ जना पदाधिकारी सहभागी छन् भने दलित अगुवा १५ जनाको सहभागिता छ ।
केही समयअघि मञ्चद्वारा आयोजित जिल्लास्तरीय दलित कार्यपालिका सदस्यहरूको भेलाले मधेस प्रदेशको प्रत्येक जिल्लामा जिल्ला सञ्जाल गठन गरेको थियो ।
यस्तो सञ्जाल मार्फत दलित कार्यपालिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त तुल्याउने र कार्यपालिका बैठकहरूमा सशक्तरूपमा प्रस्तुत हुन मद्दत गर्ने कार्यकारी निर्देशक पासवानको भनाइ छ ।
तालिमको सहजीकरण प्रशिक्षकद्वय सोनालाल चौधरी र रघुनाथ लामिछानेले गरिरहेका छन् । यस क्रममा योजना तर्जुमा प्रक्रियादेखि बजेट निर्माणका चरण हुंदै नेतृत्वका लागि आवश्यक पर्ने सबैखाले विषयवस्तुमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यास समेत गराइने गरिएको मञ्चले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -