सहारा संवाददाता–––––––––––––––
कलैया, १३ जेठ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।
हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिले खाताका जम्मा गरेको करिब रु दुई करोड हिनामिना गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनु भयो ।
पर्सा जिल्ला बहुदरामाई नगरपालिका वडा नं. २ निवासी जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख कुर्मीले देवताल गाउँपालिका वडा नं. ४ पिप्राढी निवासी प्रदीपकुमार चौधरीको खाताबाट रु. ३५ लाख ५० हजार ५ सय २६ र निजकी श्रीमतीको खाताबाट रु २१ लाख ५३ हजार ८ सय ८५ सहित १३ जना बचतकर्ताको रु १ करोड ९५ लाख ३४ हजार ९ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाएर हिनामिना गरेको आरोप लगाइएको छ ।
कुर्मी विरुद्ध महागढीमाई नगरपालिका वडा नं. २ बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कुर्मीमाथि अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेयले जानकारी दिनु भयो ।
Facebook Comments Box